चितवन विशेष
राप्तीका चेपाङ परिवारलाई खाद्यान्न सहयोग

चितवन, साउन २५-
नेपालमा लायन्स क्लबको स्वर्ण जयन्तीको अवसरमा लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ रत्ननगर शान्ति चोकको संयुक्त आयोजनामा चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
खाद्यान्न सामग्री स्व.राजकुमारको धर्मपत्नी ऋतु चेपाङलाई आइतबार हस्तान्तरण गरिएको लियो क्लब अफ रत्ननगर शान्ति चोकको प्रथम उपाध्यक्ष रोसन तिमल्सिनाले जानकारी दिनु भयो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले माछा मार्न गएका राजकुमारलाई कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको थियो ।
चेपाङ परिवारलाई खाद्यान्न सहयोग गर्न राप्ती नगरपालिका–२ का वडा सदस्य ज्ञानप्रसाद पाण्डे, नेपाल चेपाङ संघको पूर्वअध्यक्ष बलराम चेपाङ, लायन्स क्लब अफ रत्ननगरका पूर्वअध्यक्ष बालकृष्ण भट्टराई, गोकुल पराजुली , पुजन लामिछाने लियो क्लब अफ रत्ननगर शान्ति चोकको प्रथम उपाध्यक्ष रोसन तिमल्सिनालगायत स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम राजु सिवाकोटीको अध्यक्षतामा भएको हो ।
























