Breaking News

माडीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनेः नगरपालिकाको नाम अयोध्यापुरी राख्नुहोस्

Banner

चितवन,साउन २४-

प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार चितवनका जनप्रतिनिधि सहितको भेटमा माडी नगरपालिकाको नाम अयोध्यापुरी राख्न सुझाब दिनुभयो ।

प्रधानमन्त्रीसंग भएको कुराकानीबारे नारायणी अनलाइनलाई जानकारी दिँदै चितवनकी सांसद दिलकुमारी रावल ‘पार्वती’ले अयोध्यापुरी नाम राख्नका लागि नगरपालिकाको वोर्डबाट निर्णय गरेर पठाउन आग्रह गर्नुभएको छ । उहाँले रामनवमीका दिन अयोध्यापुरीमा मेला लगाउने तयारी गर्न समेत भन्नुभएको छ ।

अर्को बर्षको राम नवमीमा राम र सिताको मुर्ती प्रधानमन्त्रीको तर्फबाट उपहार प्रदान गर्ने बताएको उहाँले जानकारी दिनुभयो । अयोध्यापुरीमा भएका संरचना र जग्गाको बारेमा प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो । निकुञ्जसंग सरकारले संमन्वय गर्ने भन्दै उहाँले आवश्यक जग्गाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीले राम नेपालमा जन्मेको र अयोध्याका प्रमाणहरु प्रशस्तै रहेको बताउनुभएको थियो ।

माडीमा भेटिएका पुरातात्विक र प्राचिन संरचनाहरुको संरक्षण गर्नुपर्नेभन्दै प्रधानमन्त्रीले पुरातत्व विभाग खोज, अनुसन्धान र उत्खननमा लागेको जानकारी दिनुभयो । उहाँले निकुन्ज एन संसोधनका विषयमा पनि काम अघि बढेको बताउनुभयो । प्रधानमन्त्रीले लुम्बिनी, बाल्मिकी आश्रम र जनकपुरधामलाई जोडेर धार्मिक सर्किट बनाउनुपर्ने धारणा राख्नुभयो । भेटमा सांसद रावल सहित माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल,उपप्रमुख ताराकाजी कुमारी महतो,नेकपा माडी नगर कमिटीका प्रतिनिधि,अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका पदाधिकारीहरु सहभागि हुनुहुथ्यो ।

यसअघि शुक्रबार नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भन्नुभयो, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो ।”

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताउनुभएको सुवेदीले जानकारी दिनुभयो ।

हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताउनुभएको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । “पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ”, सुवेदीले भन्नुभयो । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्याे ।

प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>