Breaking News
चीनको तिब्बत सरकारले दियो वाग्मती प्रदेशलाई १३ करोडको स्वास्थ्य सामग्री

हेटौंडा, साउन २४-
चीनको तिब्बत सरकारले वाग्मती प्रदेश सरकारलाई १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
रसुवा जिल्लाको रसुवागढी नाकामा अयोजित एक कार्यक्रमकाबीच सामाग्री हस्तान्तरण गरिएको हो ।
तिब्बतको तर्फबाट डेपुटी डिभिजन चिफ अफ द इन्टरनेशनलको – अपरेसन एण्ड एक्सचेन्ज अफ एफ ए ओ ली हुवान र सोही डिपार्टका पेमा युजेनले वाग्मती प्रदेशका उपसचिब डा. अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका रसुवा जिल्ला प्रमुखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्राप्त सामग्रीहरुमा भेन्टिलेटर १६ थान, कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्प १० थान, ईलेक्ट्रो कार्डियोग्राफ ३ थान, मोनिटर प्यासेन्ट ६० थान, कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सिजन रिजर्ब भोयर ब्याग ५० थान, ब्लड ग्यास एनलाइजर १० थान, डेफिग्रीलेटर मोबाईल १० थान, अक्सीमिटर, पल्स २० थान, आईसियु बेड ५० थान, पीपीई एक हजार थान, एन ९५ मास्क दुई हजार थान, डिस्पोजेबल नाईट ट्रायल इक्जाम ग्लोबस् दुई हजार थान, डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार थान, मेडिकल आइसोलेन बुट, सु कभर दुई हजार थान सहयोग प्राप्त भएको छ ।
प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका अस्पतालहरुमा आवश्यकता अनुसार पठाईने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तिब्बत भ्रमणका क्रममा तिब्बत सरकार र वाग्मती प्रदेश सरकारबीच भगिनी सम्बन्ध स्थापित गर्ने तथा सहयोगको आदानप्रदान गर्ने सम्बन्धमा छलफल तथा सहमतिहरु भएका थिए । सोही सहमति अनुसार दुई सरकारबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धमा काम भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
























