Breaking News

नारायणगढबाट २६ जनाको स्वाब संकलन, आजै कोरोना परीक्षण गरिदै

Banner

चितवन, साउन २४–

भरतपुर महानगरपालिका–१, नारायणगढका एकै परिवारका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि चितवनमा समुदायस्तरमै कोरोना फैलिएको आशंका गरिएको छ ।

समुदायस्तरमै कोरोना फैलिएको छ या छैन भन्ने एकिन गर्न आज (शनिबार) समुदायस्तरबाट नै प्रतिनिधिमुलक २६ जनाको स्वाब संकलन गरिएको छ । एकै परिवारका तीन जनामा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट आज १३ जनाको स्वाब संकलन गरिएको छ । त्यस्तै संक्रमितको घर वरपरका पसलका ६ जनाको पनि स्वाब संकलन गरिएको छ ।

त्यस्तै बजार क्षेत्रमा नियमित अटो रिक्सा चलाउँदै आएका दुई जना चालक, दुई जना म्याजिक चालक, बालकुमारी सब्जी मण्डीमा रहेका होटल, तरकारी र माछा पसलका एक/एक जना गरी तीन जनाको स्वाब संकलन गरिएको भरतपुर महानगरपालिकाका कन्ट्याक्ट ट्रेसिङ प्रमुख केशव भट्टले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘प्रतिनिधिमुलक रुपमा २६ जनाको स्वाब संकलन गरेका छौं, रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढाउँछौं ।

आज स्वाब संकलन गरिएका सबै २६ जनाको आजै भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कोरोना परीक्षण हुँदैछ । समुदायमा कोरोना फैलिएको आशंका गरिएकाले संभावित नमुनाको आजै परीक्षण गर्न लागिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । उनले भनिन्–‘आज शनिबार भएकाले सके जतिको नमुना परीक्षण गर्छौ, बाँकीको आइतबार परीक्षण हुन्छ ।’

एकै परिवारको तीन जनामा कोरोना देखिएपछि शुक्रबार साँझदेखि नै पुतली बजार क्षेत्रको भिमसेन मन्दिरदेखि मिनिसो मार्ग चोकदेखि मेनरोडसम्म क्षेत्रलाई शिल गरिएको छ । त्यहाँ झण्डै एक सय घर रहेका छन् । अर्को आदेश नभएसम्मका लागि त्यस क्षेत्र शिल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

फोटोः सचिना पौडेलको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>