Breaking News

चितवनका गाईमा नयाँ भाइरस संक्रमण, भेटेरिनरी अस्पतालले बाँड्यो स्थानिय तहमा ओषधि

Banner

चितवन,साउन २३-

चितवनका गाईमा नयाँ किसिमको संक्रामक रोग फैलिएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चितवनका स्थानिय तहमा औषधि वितरण गरेको छ । रोग नियन्त्रणका लागि पशुपंक्षी तथा मात्स्य विकास निर्देशनालय हेटौंडाले पठाएको औषधि भेटेरिनरी अस्पताल मार्फत वितरण गरिएको हो । भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकालाई औषधि वितरण गरिएको हो ।

१३ प्रकारको औषधि स्थानिय तह मार्फत किसानलाई प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख दयाराम चापागाँईले जानकारी दिनुभयो । शुक्रबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई औषधि हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख दाहालले प्रदेश सरकार मार्फत प्राप्त भएको औषधि प्रभावित किसानलाई वितरण गरिने बताउनुभयो । उहाँले नयाँ संक्रमित रोगबारे महानगरपालिकाले समेत चासो दिएर प्राविधिकहरु खटाएको जानकारी दिनुभयो ।

पहिचान हुन नसकेको उक्त रोगले अहिले चितवनका पाँच स्थानिय तहका गाई थलिएका छन् । दुई दर्जन गाईमा यस्तो संक्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र (चितवन) ले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको संक्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकले बताएका छन् ।

लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्किने) जस्तै रोग देखापरेको प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिनुभयो । सुरुआतमा राप्ती नगरपालिकामा देखिएको रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उहाँले बताउनुभयो । यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईंले बताउनुभयो ।

चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रोग हो । यसको परीक्षण र उपचार विधि नेपालमा छैन । यो रोग लाग्ने गाईमा सुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेका छन् । लक्षणका आधारमा उपचार भइरहेको प्राविधिकले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>