चितवन विशेष
रत्ननगरको कपरफोरी माविमा वृक्षरोपण

चितवन, साउन २१-
रत्ननगरको कपरफोरी माध्यमिक विधालय परिसरमा लायन्स क्लब अफ रत्ननगर शान्ति चोक र लियो क्लब अफ रत्ननगर शान्ति चोकको संयुक्त आयोजनामा बुधबार वृक्षरोपण गरिएको छ ।
रत्ननगर नगरपालिका–९ मा रहेको सो विद्यालयको खाली जग्गामा बिरुवा लगाइ बिरुवा संरक्षणका लागि जालीसमेत हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बी २ का डिस्ट्रिकका रिजन चेयर पर्शन शिवप्रसाद सुवेदीले वृक्षरोपणले विश्व वातावरणलाई नै बचाउने आफूहरुको राम्रो अभियान भएको बताउँदै उनले वृक्षरोपणका साथै समय समयमा रोपेका विरुवाहरुको गोडमेल र त्यसको संरक्षण पनि आवश्यक रहेको बताए ।
विद्यालय क्षेत्रको परिसरमा बहुउपयोगी हुने अमला, कपुर, बेल, जामुनलगायतका करिब ५० बढी विरुवा रोपिएको लियो क्लब अफ रत्ननगर शान्ति चोकका प्रथम उपाध्यक्ष रोशन तिमल्सिनाले जानकारी दिनुभयो । वृक्षरोपण कार्यक्रममा ३२५ बी २ का रिजन पर्शन किरण लामिछाने, विधालयका प्रधानाध्यापक विष्णु कट्टेल, रत्ननगर–९ का वडा सदस्य मानबहादुर थापा, लायन्स क्लब अफ रत्ननगर शान्ति चोकका पूर्वअध्यक्ष राजु भट्टराईलगायतको उपस्थिति रहेको थियो । वृक्षरोपण कार्यक्रम लायन्स क्लब अफ रत्ननगर शान्ति चोकका अध्यक्ष राजु सिवाकोटीको अध्यक्षतामा भएको थियो ।

























