Breaking News
चितवनमा मास्क नलगाउनेलाई धमाधम कारवाही, सुरक्षा सर्तकता नअपनाउँदा जोखिम बढ्यो

चितवन, साउन २०-
लकडाउन हटेसँगै चितवनभित्रका विभिन्न ठाउँमा सार्वजनिक सवारीसाधन चल्न थाले पनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।
१२० दिने लामो लकडाउनको अन्त्यसँगै चितवनका विभिन्न शहरी क्षेत्रका सडकमा सवारी चापसमेत बढ्न थालेको छ । चितवनको छोटो दूरीमा सार्वजनिक गाडी तथा म्याजिक गुडिरहे पनि सुरक्षाको मापदण्डमा भने खासै ध्यान दिएको पाइएन ।
माडीबाट भरतपुर जनैपूर्णिमा मान्नलाई सोमबार सार्वजनिक बसमा आएका गोपाल पौडेलले बसमा कुनै पनि सुरक्षाको मापदण्ड अपनाइएको भेट्नु भएन । उहाँले भन्नु भयो, ‘ बसमा खचाखच यात्रु भरिएका थिए । आवश्यक स्यानिटाइजर र सुरक्षाका साधनहरु नत यात्रुले नै प्रयोग गरेका थिए नत बसका कर्मचारीहरुले नै प्रयोग गरेको देखिन्थ्यो । ’ सुरुमा खासै निगरानी नभए पनि विगत तीन दिनदेखि चितवन ट्रफिक प्रहरीले विशेष निगरानी राखिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आइतबार १२, सोमबार १९ वटा सवारीसाधन कारबाहीमा परेका छन् । प्रहरीले बस तथा म्याजिकलाई ५०० रुपैयाँ जरिवाना लिएर सचेत गराएर छाडेको छ भने मोटरसाइकललाई भने १०० रुपैयाँ जरिवाना गरेको छ ।
चितवन ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले विगत तीन दिनदेखि गरिएको अनुगमनमा केही सवारी साधनले क्षमताभन्दा बढी यात्रुहरु राखेर भाडा पनि बढी लिएको पाइएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले तीन दिनमा सवारी साधन र यात्रुहरु समेत गरेर ७७३ जनालाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आवश्यक सुरक्षाको मापदण्ड सबैले अपनाएका छैनन् । हामीले सम्झाएर छाड्ने गरेका छौं । ’
यसैबीच गाडी चलाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धित व्यवसायीले आफै व्यवस्था गर्ने भनिएको छ । यातायात व्यवस्था विभागका अनुसार गाडीमा स्यानिटाइजरको व्यवस्था व्यवसायी आफैले गर्नुपर्ने, यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री, पन्जा र पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउनुपर्ने लगायतका व्यवस्था गरिएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सहचालकले नअपनाएको यात्रुले गुनासो गरेका छन् । सरकारले भौतिक दूरी कायम गरी यात्रु राख्नुपर्ने, ५० प्रतिशत बढी भाडा लिन मिल्ने भने पनि व्यवसायीले तोकिएको भन्दा धेरै संख्यामा यात्रु चढाएर दोब्बर भाडा लिइरहेको गुनासो बढ्न थालेको छ । आम सर्वसाधारणको उपयोग गर्ने सार्वजनिक सवारी साधनको व्यवस्थापनमा चितवनमा खासै कडा नियन्त्रण नगरिएको यात्रुहरुको गुनासो छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै जोखिममा बालबालिका र वृद्धहरु रहेको चिकित्सकहरु बताउँछन् । बालरोग विशेषज्ञ डा नारायणबहादुर थापाले वीरगञ्जमा निकै नै फैलिएको कोरोना हेटौंडा हुँदै चितवन आउने सम्भावना निकै नै बढी रहेको नारायणीअनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी जोखिममा बालबालिका र वृद्धवृद्धा रहेकोले पनि सार्वजनिक यातायातमा विशेष सावधानीसहित सुरक्षा सर्तकता अपनाउन आवश्यक देखिन्छ । ’























