Breaking News
चितवनमा धमाधम बाहिरी जिल्लाबाट कामदार भित्रिदै, कोरोनाको जोखिम बढ्दो

चितवन, साउन २०–
चितवनमा पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको स्वीकृति बिना नै बाहिरी जिल्लाबाट कामदारहरु भित्रिन थालेका छन् । यहाँका उद्योग, कलकारखाना, ठेकेदारहरुले धमाधम लुकीछिपी संक्रमित जिल्लाहरुबाट कामदार भित्र्याउन थालेका छन् ।
विशेषगरी पूर्वीचितवनको खैरहनी नगरपालिकामा रहेका उद्योग, कलकारखना र ठेकेदारहरुले भारतीय सीमावर्ती जिल्लाहरुबाट कामदार भित्र्याएका छन् । जिल्ला प्रशसन कार्यालय चितवनले स्वीकृती बेगर अन्यत्र जिल्लाबाट कामदार नल्याउन सबैमा आग्रह गरेको छ । तर लुकीछिपी भने कामदारहरु आइरहेका छन् ।
स्वीकृति बेगर नै चितवनका आएका कामदारहरुलाई ठेकेदार आफ्नै तरिकामा होम क्वारेन्टिनमा राख्दा एक जनाको मृत्यु भयो । खैरहनी नगरपालिका–६ मा एक ठेकेदारले ल्याएर होम क्वारेन्टिनमा राखेका बाराको कलैया–२१ का ३६ वर्षीय पुरुषको सोमबार राति मृत्यु भयो । यसले घटनाले पनि चितवनमा प्रशस्तै बाहिरी जिल्लाबाट कामदार आएको पुष्टि गर्छ । मृतक व्यक्तिसंग बारा जिल्लाबाटै अन्य पाँच जना पनि आएका छन् । बिना अनुमति कामदार नल्याउन आग्रह गर्दा गर्दै ठेकेदारले संक्रमित जिल्लाहरुबाट कामदार ल्याएको खैरहनी नगरपालिका–६ का वडाध्यक्ष रामशरण पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो–‘मैले आफैले पटकपटक ठेकेदारलाई कामदार नल्याउन आग्रह गरेको थिए, उहाँ आफैले ल्याएर होम क्वारेन्टिनमा राख्नु भएछ ।’
उहाँले कामदार ल्याए पनि सार्वजनिक क्वारेन्टिनमा राख्न आग्रह गर्दा समेत त्यहाँ नराखेर होम क्वारेन्टिनमा राखेको बताउनुभयो । जनप्रतिनिधिको आग्रहलाई समेत लत्याउँदै ठेकेदार र उद्योगीहरुले जिल्लामा कामदार भित्र्याउन थालेका छन् । जनप्रतिनिधिहरुलाई थाहै नदिई अझै धेरै कामदार भित्रिएको हुन सक्ने अनुमान गरिएको छ ।
खैरहनी नगरपालिकामा साना तथा ठूला गरी ६० भन्दा बढी उद्योग कलकारखाना रहेका छन् । यस क्षेत्रमा बढीजसो इट्टा उद्योग, खाद्यान्न उद्योग, बोरा उद्योग, रक्सी उद्योगहरु रहेका छन् । यहाँका उद्योगहरुमा धेरैजसो भारतीय र चितवन बाहिरका कामदाहरु रहेका छन् । यस्तै चितवन जिल्लाभर एक हजारको हाराहारीमा साना तथा ठूला उद्योग तथा कलकारखाना रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराइले प्रशासनको स्वीकृति बेगर बाहिरी जिल्लाबाट कामदार नल्याउन सम्बन्धित पक्षलाई निर्देशन दिनु भएको छ । यसरी बाहिरबाट जानकारी बिना नै कामदार ल्याउदा जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गर्नुभयो । उहाँले स्वीकृति बेगर कामदार ल्याएको पाइएमा कानुन बमोजिम कारवाही गर्ने समेत चेतावनी दिनुभएको छ । उहाँले बाहिरी जिल्लाबाट लुकीछिपी काम भित्रिन थालेको जानकारी प्राप्त भएको भन्दै अब विशेष निगरानी गरिने बताउनुभयो ।
चितवनमा पछिल्लो समय क्वारेन्टिनमा रहेकाहरुको संख्या पनि घट्दै गएको छ । हाल चितवनमा ४३६ जना क्वारेन्टिनमा रहेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २३१ जना सार्वजनिक क्वारेन्टिनमा रहेका छन् २०५ जना होम क्वारेन्टिनमा रहेका छन् । चितवनमा हालसम्म ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हाल ६ जनामा मात्रै उपचाररत छन् भने एक जनाको मृत्यु भएको छ । बाँकी संक्रमित निको भएर घर फर्किएका छन् ।























