Breaking News
चितवनमा कोरोना संक्रमण घटेकै हो ?

चितवन, साउन २०–
एक समय चितवनमा हरेक दिनजसो कोरोना संक्रमित भेटिदै आएका थिए । यसरी दिन प्रतिदिन संक्रमित थपिदै जाँदा चितवनमा कुल कोरोना संक्रमितको संख्या ११५ पुग्यो ।
तर केही साता यता चितवनमा कोरोना संक्रमित भेटिएका छैनन् । यसको संकेत के साँच्चै चितवनमा कोरोना संक्रमण घटेकै हो त ? यो अहिल्यै भन्न सकिने अवस्था त छैन । तर पछिल्लो समय १० दिनको परीक्षण हेर्दा चितवनमा नयाँ संक्रमण भेटिएको छैन । साउन ९ गते भरतपुर महानगरपालिका–११ का ४६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि त्यसयता चितवनमा नयाँ संक्रमण फेला परेको छैन । ‘हरेक दिन चितवनकै स्वाब परीक्षण भएको छ, तर संक्रमण फेला परेको छैन’–भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले भन्नुभयो । उनका अनुसार सोमबार कुल १४० नमुनाको कोरोना परीक्षण गरिएको थियो । ती सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार शंकास्पद एक व्यक्तिको स्वाब परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण देखिएन । कालिका नगरपालिका–८ का ६९ वर्षीय पुरुषको मृत्यु पश्चात स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो ।
१०८ निको भए, ६ जना संक्रमित मात्रै उपचाररत
चितवनमा कोरोना संक्रमितहरु मध्ये अधिकांश निको भएर घर फर्किएका छन् । १०८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हाल ६ जना संक्रमितको मात्रै भरतपुर अस्पतालमा उपचार भइरहेको छ । हालसम्म ११५ जनालाई मात्रै कोरोना संक्रमण भएको छ । जसमध्ये एक जना भरतपुर महानगरपालिका–११ का वृद्धको मृत्यु भएको छ । चितवनमा संक्रमण पुष्टि भएकाहरु अधिकांश भारतबाट आएकाहरु हुन् । सबैभन्दा बढी भरतपुर महानगरपालिका र माडी नगरपालिकामा कोरोना संक्रमण भेटिएको छ । यस्तै जिल्लाको एक मात्र इच्छाकामना गाउँपालिकामा अहिलेसम्म संक्रमित भेटिएका छैनन् । चितवनमा पहिलोपटक वैशाखमा पूर्वीचितवन राप्ती नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बेलायतबाट आएका आमा र छोरालाई कोरोना संक्रमण भएको थियो । उनीहरुको भरतपुर अस्पतालमा उपचार भएर निको भएका थिए । चितवनमा कोरोना संक्रमित हुनेमा चिकित्सकहरु समेत थिए । उनीहरु सबै निको भइसकेका छन् ।
४३६ जना मात्रै क्वारेन्टिनमा
चितवनमा पछिल्लो समय क्वारेन्टिनमा रहेकाहरुको संख्या पनि घट्दै गएको छ । भारतबाट फर्किनेको संख्या घटेपछि चितवनका क्वारेन्टिन खाली हुँदै गएका छन् । हाल चितवनमा ४३६ जना क्वारेन्टिनमा रहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सञ्चारपत्रलाई जानकारी दिनुभयो । उहाँका अनुसार २३१ जना सार्वजनिक क्वारेन्टिनमा रहेका छन् २०५ जना होम क्वारेन्टिनमा रहेका छन् । भारत बाहेकका देशबाट आउनेहरु प्रायजसो होम क्वारेन्टिनमा बस्ने गरेका छन् । उनीहरुलाई तोकिएको मापदण्ड पुरा गर्ने शर्तमा होम क्वारेन्टिनमा राखिएको हो ।
विदेशबाट आएका व्यक्तिको निगरानीको जिम्मा टोललाई
पछिल्लो समय चितवनमा कोरोना संक्रमित फेला नपरे पनि कतै एकैचोटी संक्रमित बढ्ने होकि भन्ने धेरैलाई चिन्ता छ । यस्तै चिन्ता जिल्लाको सम्पूर्ण सुरक्षाको जिम्मा रहेको जिल्ला प्रशासन कार्यालय पनि छ । कोरोना नफैलियोस् भन्नका लागि विदेशबाट आएका व्यक्तिहरुलाई विशेष निगरानी राखिएको छ । यसका लागि प्रशासनले स्थानीय टोलहरुलाई दिएको छ । स्थानीय व्यक्तिहरुको जानकारी टोललाई नै पहिले थाहा हुने भएकाले उनीहरुलाई निगरानीको जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईले सञ्चारपत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘गाउँ टोलमा को आए भन्ने बारे सबैभन्दा पहिले टोलबासीलाई नै थाहा हुन्छ, बाहिरबाट आएकाहरु के कसरी बस्दैछन् उनीहरुको निगरानी गर्न सम्पूर्ण जिम्मा टोलबासीलाई दिएका छौं ।’
जिल्लामा हाल १३ सय भन्दा बढी टोल विकास संस्थाहरु छन् । ती सबै संस्थाहरुलाई जिम्मेवारी प्रदान गरिएको प्रजिअ भट्टराईले बताउनुभयो । उहाँले स्थानीय वडा कार्यालयलाई पनि समन्वय र जिम्मेवारी दिइएको बताउनुभयो । चितवनमा अझै पनि लुकीछिपी मानिसहरु भारतबाट आउने गरेको जानकारी आएको भन्दै कडा रुपमा निगरानी गरिने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई भारतबाट कामदार ल्याउन प्रशासनको स्वीकृति बिना नल्याउन आग्रह गर्नुभएको छ । यदि कसैले स्वीकृति बिना नै बाहिरबाट कामदार ल्याएर व्यवसायीलाई नै कारवाही गरिने प्रजिअ भट्टराईले चेतावनी दिनुभएको छ ।
फोटोः फाइल























