Breaking News

चितवनमा मास्क नलगाई हिड्दै हुनुहुन्छ ? होसियार कारवाहीमा परिएला

Banner

भरतपुर,साउन १९-

चितवन जिल्लाभित्र तपाई कतै मास्क नलगाई हिड्दै हुनुहुन्छ ? यदि त्यसरी नै हिड्दै हुनुहुन्छ भने होसियार रहनु होला, प्रहरीले तपाईलाई कारवाही गर्न सक्छ ।  चितवन प्रहरीले अहिले हरेक दिन मास्क नलगाई हिडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । आइतबार भरतपुर, नारायणगढ क्षेत्रमा कारवाही गर्न थालेको प्रहरीले सोमबार जिल्लाभर नै कारवाही अभियान थालेको छ । मास्क नलगाई हिडडुल गर्नेलाई धमाधम कारवाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । आइतबार सचेतनामुलक कारवाही अभियान चलाए पनि सोमबार जिल्लाभर नै वृहत रुपमा कारवाही अभियान थालिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

मास्क नलगाई हिड्नेलाई प्रहरीले ठाउँको ठाउँ एक सय रुपैयाँ कारवाही गर्ने गरेको छ । आइतबार एक सय ५० भन्दा बढीलाई कारवाही गरिएको प्रवक्ता थापाले बताउनुभयो । प्रहरीले एक्लै हिड्दा वा मोटरसाइकलमा हिड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने गरेको छ भने सार्वजनिक स्थलमा भिडभाड गर्ने, सार्वजनिक यातायातको सवारीमा चढ्दा सुरक्षा सावधानी नअपनाउनेलाई पाँच सय रुपैयाँ जरिवाना तिराएको उहाँले बताउनुभयो ।

प्रहरीले आइतबार मात्रै जरिवाना बापत १७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । प्रहरीले आज (सोमबार) विहानैदेखि जिल्लाका विभिन्न ठाउँमा चेकजाँच गरिरहेको छ । ‘आज जिल्लाका सबै ठाउँमा चेकजाँच बढाएको छौं, तुलनात्मक रुपमा धेरैले मास्क लगाएरै हिडेको देखिन्छ’–प्रवक्ता थापाले बताउनुभयो ।

प्रवक्ता थापाले विशेष गरी जिल्लामा संचालनमा आएका सार्वजनिक सवारी साधनलाई निगरानीमा राखिएको बताउनुभयो । सवारी साधनमा भिडभाड गरी बढी यात्रु ओसार्ने र स्वास्थ्य सावधानी नपनाउनेलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले मास्क नलगाई हिड्नेलाई जहाँ भेट्यो त्यही कारवाही गर्न निर्देशन दिएको छ । केही समय आफैलाई सचेत हुन आग्रह गरिए पनि अबदेखि कारवाही अभियान थालिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । ‘उहाँले भन्नुभयो–‘केही समय मानिसहरुलाई सचेत गराएका थियौं, मान्दै नमानेपछि बाध्य भएर कारवाही अभियान थालेका हौं ।’

उहाँले पछिल्लो समय चितवनमा कोरोनो संक्रमण दर घट्दै गएकाले अब जिल्लालाई कोरोनामुक्त बनाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मान्छेसंग पैसा उठाएर कारवाही गर्ने हाम्रो रहर होइन, यो बाध्यता हो, आफै सतर्क भइदिनु होला ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>