Breaking News

चितवनमा होम क्वारेन्टिनमै मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट ‘नेगेटिभ’

Banner

चितवन, साउन १८–

होम क्वारेन्टिनमै मृत्यु भएका चितवनका एक वृद्धको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

आज (आइतबार) भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका–८ का ६९ वर्षीय पुरुषको रिपोर्ट ‘नेगेटिभ’ आएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

शुक्रबार दिउँसो १२ः३० बजे निधन भएका वृद्धको शव भरतपुर अस्पतालको शव गृहमा रहेको छ । घरमै रहेको बेलामा निधन भएपछि उनको शुक्रबार नै स्वाब निकालिएको थियो । हिजो शनिबार भएकाले आज मात्रै स्वाब परीक्षण गरिएको थियो । मृतक वृद्ध यही साउन ८ गते भारतबाट नेपाल आएका थिए ।

रोजगारीको शिलशिलामा उतै बस्दै आएका उनी रातीको समयमा घर आएकोले स्थानीयले समेत जानकारी पाएका थिएनन् । भारतबाट आएको जानकारी पाएपछि उनलाई १४ दिन होम क्वारेन्टिनमै बस्नका लागि स्वीकृति दिएको थियो । १४ दिनपछि मात्रै स्वाब परीक्षण गर्ने तयारी गरिएपनि शुक्रबार दिउँसो १२ः३० बजे नै उनको मृत्यु भएको कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले नारायणी अनलाइनलाई जानकारी दिए । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनको परिवारले शव बुझेर अन्त्येष्टि गर्ने भएको छ ।

आज (आइतबार) भरतपुरमा चितवनका ११८ जनाको कोरोना परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले नारायणी अनलाइनलाई बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>