Breaking News

सेनाको कुटाईबाट मारिएका राजकुमार चेपाङको शव परिवारले बुझ्यो

Banner

चितवन, साउन १७–

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट मारिएका पूर्वीचितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङ शव परिवारले बुझेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षिय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शनिबार शव बुझेको हो । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा रहेको शव परिवारले चितवन ल्याएको छ । राजकुमारको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो ।

शुक्रबार बसेको सर्वपक्षीय बैठकले राजकुमार चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने पहिलो निर्णय गरेको छ । बैठकले मृतक राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतक राजकुमारको घर निर्माणमा आवश्यक बनपैदावर, कच्चापदार्थ र श्रम समेत निःशुल्क उपलब्ध गराउने, मृतक राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउन, मृतक राजकुमार चेपाङको शव परिवारले बुझि अन्त्यष्ठी गर्ने निर्णय भएको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित परिवारले पहिलो माग दोषी सैनिकलाई कानुनी कारवाही गर्नुपर्ने र पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । शुक्रबार मात्रै नेपाल चेपाङ संघले पनि पत्रकार सम्मेलन गरी दोषीलाई कारवाही, पीडित परिवारलाई १० लाख क्षतिपुर्ति र अन्य घाइतेलाई निःशुल्क उपचारलगायतको माग गरेको थियो । गत साउन १ गते राप्ती नदीमा घोङी टिप्न गएका राजकुमारसहित पाँच जनालाई निकुञ्ज सुरक्षार्थ एक सैनिक जवानले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै र्गएपछि साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याईएको थियो । उनको उपचारकै क्रममा सोही राती मृत्यु भएको थियो । मृतक राजकुमारको चेपाङ संस्कार अनुसार गड्यौलीमा अन्त्येष्टि गरिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>