Breaking News
जनस्वास्थ्य विज्ञहरु भन्छन्: कोरोनाको जोखिम बढ्यो, सर्तक बनौं

काठमाडौं, साउन १७-
चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले नेपालमा कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका छन् ।
नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दीक्षितले आफूहरुले यसअघि सरकारलाई सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भए पनि सरकारले भारतसँगको सिमा नाका बन्द नगरेको गुनासो पोख्नु भयो । उहाँले भन्नु भयो,‘अहिले स्वास्थ्यकर्मीहरु काम छोडेर भागेको भन्ने कुरा आएको छ। तराईमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ । भारतसँगको सीमा नाका पूर्णरुपमा बन्द गर्नुपर्छ भनेर हामी धेरैपटक चिच्याऔं । तर, सरकारले हाम्रो कुरै सुनेन ।’
साक्षात्कारमा उहाँले काठमाडौं उपत्यका पनि अहिले कोरोना संक्रमणको भयंकर जोखिममा परेको खतरा औंल्याउनु भयो । उहाँले भन्नु भयो,‘काठमाडौं खाल्डो कोरोना संक्रमणको जोखिममा परिसकेको छ । अब हामीले परिणाम देख्दै जान्छौं ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको भन्दै उहाँले गुनासो पोख्नुभयो । उहाँले कोरोना संक्रमण रोगमा परिणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाइ हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने काम पनि सरकारले नै गरेको गम्भीर आरोप लगाउनु भयो ।

।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गर्नुभयो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेको उहाँले खतरा औंल्याउनु भयो । प्रदेश नम्बर २ मा संक्रमण ‘मेगा आउटब्रेक’ अर्थात लेभल ४ मा पुगेको पनि उहाँले टिप्पणी गर्नुभयो ।
सरकारले कोरोना समूदायमा फैलिएको छैन भनेर आम जनसमूदायमा ‘रिस्क’ महसुस गराउन नसकेको पनि उहाँको गुनासो छ । उहाँले भन्नुभयो,‘सरकारले कोरोना संक्रमणको खतरा छ है, सचेत हुनुहोस् भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्ने थिए ।’
वहाँले कोरोनाबाट बच्ने उपायमा मुख्य कुरा भनेको मानवीय व्यवहार नै रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो,‘मानवीय व्यवहार नै मुख्य कुरा हो । अर्को भनेको सर्भेलियन्स नै हो । निगरानी बढाउने । परीक्षणको दायरा बढाउनुपर्छ ।’ सरकारले लकडाउन खुकुलो बनाएपछि परीक्षणको दायरा बढाउनुपर्ने थियो भन्ने उहाँको भनाइ छ ।
त्यस्तै कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि आम नागरिक व्यवस्थित हुनुको विकल्प नभएको बताउनु भएको छ । उहाँले अहिले लकडाउन खुलेपछि बाहिर निस्किएकाहरुले सावधानी अपनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘बाहिर निस्किएकाहरुले मास्क लगाउनुपर्छ । रेगुलर हात धुनुपर्छ । फिजिकल डिस्ट्यान्स पालना गरौं ।’
सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. वास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘संक्रमितहरु जो उपचारमा हुनुहुन्छ, उहाँहरुलाई परिवारका सदस्यहरुले पनि भेट्न पाउँदैनन् । यो इमोसनलाई पनि सबैले बुझ्नुपर्छ ।’ उहाँले कोरोनाविरुद्ध लड्ने हो भने सबैले आफ्नो मानवीय व्यवहारलाई परिवर्तन गर्नुपर्ने बताउनु भयो ।























