Breaking News

अबको १८ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण सकिन्छ: धुर्मुस

Banner

चितवन, साउन १७-

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम अबको १८ महिनामा सकिने निर्माण पक्षको दाबी छ ।
लकडाउन र कोरोनाको त्रासमा पनि निरन्तर निर्माणको काम भएकोले पनि १८ महिनामा नै निर्माणको काम सकिने भएको हो ।

गौतमबुद्ध निर्माणको काम गरिरहेको र्धुमुस सुन्तली फाउण्डेसका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले निकै मेहनत र चमत्कारका साथ यो काम सम्भव हुने नारायणी अनलाइनलाई बताउनु भयो । उहाँले भन्नुभयो, ‘ भरतपुर महानगर, चितवनका सम्पूर्ण राजनीतिक दलहरु सबैको सहयोग र सद्भावमा स्रोतसाधन जुट्दै गएकोले काम रफ्तार गतिमा भइरहेको छ । लकडाउनको परवाह नगरी रातदिन नभनी काम भइरहेकाले पनि हामीलाई रंगशाला निर्माणको काम सक्न १८ महिना भन्दा बढी लाग्दैन भन्नेमा ढुक्क छौं ।’ अहिले १५० जना भन्दा बढी कामदार निरन्तर काममा खटिरहेका छन् । निर्माण क्षेत्रका विज्ञहरुको समूह नै राखेर रफ्तारमा काम भइरहेकोले काम गुणस्तरीयरुपमा अगाडि बढिरहेको धुर्मुसले बताउनु भयो ।

धुर्मुस सुन्तली फाउण्डेसका अनुसार खेलमैदान निर्माणको काम ८५ प्रतिशत सकिएको छ । सुरक्षा र सामाजिक दूरीका उपायहरु अपनाउँदै लकडाउनमा काम निरन्तर भइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाका निमित्त व्यवस्थापक तथा प्रमुख इञ्जिनियर मणि दासले १८ महिनाभन्दा पनि अगाडि निर्माणको काम सम्पन्न गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ अहिले रंगशालाको जग ढलान र पिलर ढलानको काम भइरहेको छ । ग्राउण्ड ८५ प्रतिशत सकिएको छ । त्यस्तै स्ट्याण्ड ‘ए’ र ‘बी’ को काम भइरहेको छ ।’ रंगशालाको जग्गा घोलमा भएकोले जमिनबाट निस्किएको पानीले असर नगरोस् भनेर २० वटा पम्पले निरन्तर पानी तानेर बाहिर फाल्ने गरेको इञ्जिनियर दासले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । वहाँले धुर्मुसको निरन्तरको खटाइ, प्रतिबद्ध र मेहनती निर्माण टोली भएकोले पनि रंगशाला निर्माणको काम धेरै समय नलाग्ने बताउनुभयो । धुर्मुसले संघ, प्रदेश र स्थानीय तहबाट प्रतिबद्धता व्यक्त गरे बमोजिमको सहयोग रकम समयमा आएमा दिनमै ६०० सम्म कामदार थपेर पनि कामलाई अझ तीव्रता दिन सकिने बताउनुभयो ।


भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर)को खाका नेपालकै क्रियटिभ डिजायन आर्किटेक्चर्स प्रालिले तयार गरेको हो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमूना तयार गरेको छ । रंगशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने भएको छ ।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रंगशाला निर्माण गरिँदै छ। एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रंगशाला निर्माण भइरहेकोले त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ । भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी डीपीआरलाई अन्तिम रुप दिइएको हो । विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रंगशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डीपीआरको नमूना बनाएको थियो । विसं २०७५ माघ १६ गते धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणको सहमति भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>