चितवन विशेष
राजकुमार चेपाङलाई कुट्ने सैनिक जवानलाई कारवाहीसंगै १० लाख क्षतिपुर्ति माग

चितवन, साउन १६–
नेपाल चेपाङ संघ केन्द्रीय समितिले चेपाङ युवक कुट्ने सैनिक जवानलाई कारवाही गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको छ ।
आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै संघले राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङलाई कुटपिट गर्ने सैनिक जवानलाई तत्काल सार्वजनिक गरी कारवाही गर्न माग गरेको हो । संघले मृतक राजकुमार चेपाङको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँसहित उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, घटनामा घाइते भएका अन्य चार जनाको उचित निःशुल्क उपचार गर्नुपर्ने माग राखेका छन् ।
नेपाल चेपाङ संघ, बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङले संघको निर्णय सुनाउँदै पहिलो प्राथमिकता दोषी सैनिक जवानलाई कडा कारवाही हुनुपर्ने बताए । उनले भने–‘पहिलो त सैनिकलाई कारवाही हुनुपर्यो, मृतक परिवारलाई १० लाख क्षतिपुर्ति दिनुपर्यो, अन्य घाइतेलाई निःशुल्क उपचार हुनुपर्यो ।’
राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको सेनाको कुटाईबाट साउन ८ गते मृत्यु भएको थियो । उनको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमा रहेको छ । शव पोष्टमार्टम भए पनि माग सम्बोधन नभएकाले परिवारले शव बुझ्न मानेको छैन । पत्रकार सम्मेलनमा बोल्दै संघका निवर्तमान अध्यक्ष एवंम संविधानसभा सदस्य गोविन्दराम चेपाङले आइतबारसम्ममा माग सम्बोधन नभए चरणद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
पत्रकार सम्मेलनमा सेनाको कुटाईबाट घाइते भएकाहरुले आफूहरुको निःशुल्क उपचार र उचित क्षतिपूर्ति दिन माग समेत गरेका छन् । यस्तै संघले माडी–९ कुसुमखोलाका पीडित परिवारलाई गाँसबास कपाससहितको तत्काल पुर्नवास मिलाउन माग गरेको छ ।
चेपाङ समुदायको घर आगजनी, भत्काउने, अन्नबाली नष्ट गर्ने र गराउन निर्देशन गर्ने कर्मचारीमाथि तत्काल छानविन गरी बर्खास्तसहितको कानुनी कारवाही गर्न माग गरिएको संघकी वरिष्ठ उपाध्यक्ष सुनिमाया चेपाङले बताइन् । चितवन राष्ट्रिय निकुञ्जले साउन ३ गते कुसुमखोलामा रहेका चेपाङको दुई घरमा आगजनी गरेको थियो भने केही छाप्रो भत्काएको थियो ।
























