Breaking News
निर्मला पन्त प्रकरण: एसपी विष्टसहित ८ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतको सफाइ

धनगढी, साउन १५-
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका क्रममा मुद्दा परेका आठ जना प्रहरीलाई कञ्चनपुर अदालतले सफाइ दिएको छ ।
बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै जना प्रहरीलाई सफाइ दिएको हो।
बिस्टसहित सिआईबीका तत्कालीन डीएसपी अंगुर जिसी, प्रहरी कर्मचारीहरू ज्ञानबहादुर सेठी, हरसिंह धामी, रामसिंह धामी, एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, र चाँदनी साउदलाई सफाइ दिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुनाथ शर्माले बताउनुभयो । उनीहरूमाथि लागेको आरोप सावित नभएपछि सफाइ दिइएको शर्माले बताउनुभयो ।
‘निजलाई यातना दिएको नदेखिएको, रिपोर्टमा कुनै घाउचोट नदेखिएको, अदालतमा आउँदा पनि प्रहरीले यातना दिएन भने आएको बयान र प्रमाण लुकाउने छिपाउने गरेको नदेखिएको भन्दै उनीहरूलाई सफाइ दिने फैसला भएको हो,’ उहाँले भन्नुभयो । उहाँहरूविरूद्ध निर्मला प्रकरणका प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा पक्राउ परेका दीलिपसिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो।
२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो।
निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई पक्राउ गरेको थियो। बिष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकारेको प्रहरीको दाबी थियो। तर, निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।
























