चितवन विशेष
चितवनमा विद्यार्थीलाई बाघको महत्व दर्शाउँदै मनाईयो बाघ दिवस

दीपेश चौधरी
चितवन, साउन १४–
आज विश्व बाघ दिवस, बाघ संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम गरि चितवनमा दिवस मनाईएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले स्वास्थ्य वातावरणका लागि बाघ संरक्षण’ भन्ने नारासहित विद्यार्थीहरुसंग सचेतना कार्यक्रम गरी दिवस मनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर विमल दुवाडी रहेकी थिइन् । उनले सो क्रममा बोल्दै लकडाउनको कारणले सिथिल बनेको सौराहाको पर्यटन व्यवसायलाई उकास्नको लागि निकुञ्जमा रहेका बाघ, गैंडालगायत जंगली जनावरको संरक्षण गर्नु अति आवश्यक रहेको बताइन् । जंगल, जमिन र जनावरको सुरक्षा गर्नको लागि युवाहरुको मुख्य भूमिका रहेको उनको भनाई थियो । मानव र जनावरबीच रहेको द्धन्द्ध न्यूनीकरण गर्न र बाघलगायतको जनावरलाई संरक्षण गर्नको लागि नगरपालिकाले साथ सहयोग सदैव रहने बताइन् ।

कार्यक्रममा मालपुर माध्यामिक विद्यालयका सह–प्रध्यापक शिवनारायण चौधरी, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष सरस्वती सेढाइ, वाइल्डलाइफ भिक्टीम फन्डकी डोमा पौडेलले मन्तव्य व्यक्त गरेका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतबहादुर तमाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सामुदायिक वनको मुख्य आकर्षणनै बाघ, गैडालगायतका जंगली जनावरहरु हुन् । देश विदेशबाट यही जंगली जनावर हेर्नको लागि लखौ पर्यटकहरु आउने गर्दछन् । संकटग्रस्त रहेको बाघको संरक्षण गर्नको लागि सामुदायिक वनले विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने अध्यक्ष तमाङले बताए ।
बाघ संरक्षण किन गर्नु पर्दछ र बाघले इको सिस्टममा कस्तो प्रभाव पार्दछ ? भन्ने विषयमा प्रकाश चापागाइले सहजीकरण गरेका थिए । कार्यक्रममा उपस्थित रहेका विद्यार्थीहरुका लागि कार्यक्रम स्थलदेखि टावरसम्म छोटो जीप सफार को पनि व्यवस्था गरी जंगल र जंगली जनावरको महत्वको बारेमा जानकारी दिइएको थियो ।
सन् २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २ सय ३५ वटा बाघ रहेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, पर्सा राष्ट्रिय निकुञ्जमा १८, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा १६, बाके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेका छन ।
सन् २००८ मा १ सय २१ बाघ रहेका बेला सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने नेपाल सरकारको लक्ष्य रहेको छ ।
























