चितवन विशेष
चेपाङको घरमा आगो लगाउनु गल्ती भन्दै विभागले माग्यो माफी

चितवन, साउन १४–
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनमा चेपाङको घरमा आगो लगाएको घटना प्रति माफी मागेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुसुमखोलामा चेपाङ समुदायका घर जलाएको र हात्ती लगाएर भत्काउन लगाएको प्रति विभागले बुधबार माफी मागेको हो ।
विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले संघीय संसद प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उक्त घटनाप्रति विभागको तर्फबाट माफी माग्नु भएको हो । समितिको बुधबारको बैठकमा कँडेलले उक्त घटना मानवीय गल्ती भएको भन्दै माफी माग्नु भएको हो । ‘केही छिटफुट घटना भएको छ । अमानवीय भन्नाले पनि केही मानवीय त्रुटिले घटना हुन गएको छ । म विभागकोतर्फबाट क्षमा याचना गर्न चाहन्छु,’ उहाँले विभागमा माफी माग्दै भन्नुभयो ।
साउन पहिलो साता चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको कुसुम खोला भित्र बसेका चेपाङ समुदायका २ जलाइएको थियो भने केही टहरा भत्काइएको थियो । व्यापक विरोधपछि विभागले क्षमा याचना गरेको हो ।
कँडेलले वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधान गर्नका लागि बस्ती सार्ने क्रममा कमजोरी भएको बताउनु भएको छ ।
उहाँले उक्त क्षेत्रमा २०५३ सालयता स्थानीय बसोबास गर्दै आएको र पछिल्लो समय दुर्घटना बढेसँगै हटाउन लागिएको कँडेलको भनाइ थियो । चेपाङ बस्ती भएको क्षेत्र भारत र पर्सा राष्ट्रिय निकुञ्जबाट हात्ती आउने बाटो भएकाले खाली गर्न लागिएको उहाँले जानकारी दिनुभयो । समितिको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटिका कारणले घर जलेको बताउनु भएको थियो ।
























