Breaking News
रोजगार गुमेपछि बोटलर्स नेपाल तराईका ४८ मजदुर आन्दोलित, पूर्नवहाली नगरे ढुवानी ठप्प पार्ने चेतावनी

चितवन,साउन १४-
भरतपुरको गोन्द्राङमा रहेको बोटलर्स नेपाल तराई लिमिटेडमा कार्यरत ४८ जना मजदुरको रोजगार गुमेको छ । उनिहरु पूर्नवहालीको माग गर्दै आन्दोलित बनेका छन् । पुसदेखि उनिहरुको रोजगार गुमेको हो ।
उनिहरुले बैकल्पिक व्यवस्था विना आफुहरुलाई कामबाट निकालेपछि आन्दोलित भएको बताएका छन । उनिहरुले चैत ६ गतेदेखि निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका छन् ।
कम्पनीअन्तर्गतको वेयर हाउस विभागमा काम गर्ने उनीहरुको ठकेदार कम्पनी पवन ढुवानीसंग सम्झौता भएको थियो । तर कम्पनीले आफ्नो आवश्यकता अनुसार अन्य विभागमा पनि काम गराउने गरेको संघर्ष समितिका सचिव प्रल्हाद बर्ताैलाले बताए ।
मजदुरहरुले झण्डै एक दशकअघिदेखि निरन्तर काम गर्दै आइरहेकोले ननिकाल्न माग गरेका छन् । आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेन्चुरीले पुराना हटाएर नयाँ कामदार राखेकाले आफूहरु आन्दोलित हुनुपरेको बताए । सुरुमा पवन ढुवानीबाट काममा राखिएका उनीहरुलाई हटाएर मारुती ढुवानीलाई कामको जिम्मा दिएको सेन्चुरीले बताए ।
मजदुर सेन्चुरीले भने, ‘नयाँ मजदुरहरुले कम्पनीमा काम गरिरहेका छन् । हामीलाई कम्पनीले राख्नुपर्छ ।’ ती मजदुरहरु विशेष त कोकाकोला, फेन्टा, स्प्राइटजस्ता उत्पादनहरु ओसारपसार गर्ने कार्यमा संलग्न थिए । सेन्चुरीले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए सम्पूर्ण मालसामान तथा कच्चा पदार्थ ढुवानी सम्बन्धीका सवारी साधान आवतजावत पूर्ण रुपमा रोक लगाई तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
उनिहरुले श्रम ऐन २०७४ ले तोके बमोजिम सामाजिक सुरक्षा लगायतको सम्पूर्ण सेवा तथा सुविधा व्यवस्थापन गर्न माग गरेका छन् । हालसम्मको तलब सुविधा कम्पनीबाट उपलब्ध गराउनुपर्ने माग मजदुरको छ ।
ठकेदार कम्पनीले सम्झौता सकियो अब पाल्न सक्दिन भनेकोले हामीलाई रोजगारी चाहियो भन्ने उनीहरुको मुख्य माग छ । तर, बोटलर्स नेपाल तराई लिमिटेडले भने ठकेदार कम्पनी मार्फत् राखिएका मजदुरहरु आफ्नो सरोकारको विषय नभएको बताएको छ । ठेकेदार कम्पनीबाट राजीनामा दिएर गएका मजदुरहरु कसरी फेरि आन्दोलनमा उत्रिए भन्ने आश्चर्य लागेको कम्पनीले जनाएको छ । ठेकेदार कम्पनी पिठुवामा सरेपछि मजदुरहरु आफ्नो इच्छाले उपदान रकम ८१ हजार रुपैयाँसहित काम छाडेको जनाएको छ ।
























