चितवन विशेष
चितवन निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा ढुङ्गाना निर्वाचित

चितवन,साउन १४-
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभएको छ । आज निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा भएको निर्वाचनबाट उहाँ पाँच बर्षै कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।उहाँ नेकपा चितवनका सचिवालय सदस्य समेत हुनुहुन्छ ।
व्यवस्थापन समितिमा चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति आबद्ध छन् । सबै उपभोक्ता समितिका अध्यक्ष सोतह व्यवस्थापन समितिमा पदेन सदस्य रहन्छन । २२ उपभोक्ता समितिका अध्यक्षले मतदान गरेर व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था छ । ढुङ्गाना भरण्डारभार उपभोक्ता समितिबाट प्रतिनिधि बन्नुभएको थियो । तीन प्रदेश, चार जिल्ला र १२ पालिकाको ७ सय २९ बर्गकिलोमिटर क्षेत्र चितवन निकुञ्जको मध्यवर्तीमा पर्छ ।
अध्यक्षमा निर्वाचित ढुङ्गानाले मानव वन्यजन्तुको द्धन्द्ध न्यूनिकरणमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । उहाँले मध्यवर्तीका नागरिकको समस्या समाधानमा आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले संरक्षण,सामुदायीक विकास,आयआर्जन र संरक्षण शिक्षामा काम गर्छ । निकुञ्जको आम्दानीको पचास प्रतिशत मध्यवर्ती क्षेत्र व्यवस्थापनमा खर्च गर्ने प्रावधान रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रूपाखेतीले जानकारी दिनुभयो ।
























