Breaking News

डुबानले नवलपुरको १५० बिघा धानमा क्षति

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन १३-

केही दिन अघिदेखि परेको अविरल वर्षाका कारण बाढी पस्दा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनमा धान खेतीमा क्षति पुगेको छ ।

नारायणी नदी र विनयी खोलाको बाढी पसेर करिब १५० बिघा क्षेत्रफलमा लगाएको धान खेतीमा क्षति पु¥याएको बगुवन निवासी वडा नम्बर १ का वडा सदस्य भीमबहादुर सोमैले जानकारी दिनुभयो । वडा सदस्य सोमैको पनि डेढ बिघा क्षेत्रफलमा लगाएको धान खेती सबै मरेर पहेँलै भएको बताउनुभयो ।

बाढी पसेर खेतबारी डुबानमा परेपछि रोपेको धान कामै नलाग्ने भएको किसानले गुनासो गरेका छन् । बाढी पसेर लामो समयसम्म धान पुरै डुबाउँदा पहेँलै भएर मरेको किसान नानी ढेंगाले बताउनुभयो । एक बिघा क्षेत्रफलमा लगाएको धान खेती सबै डुबानका कारण मरेर नोक्सान भएपछि आउँदो हिउँदमा के खाने भन्ने चिन्ताले सताएको ढेंगाले गुनासो गर्नुभयो । ‘यसपाली समयमै धान रोपेका थियौँ, धान धेरै फल्छ भन्ने सोंचेका थियौ तर सबै नोक्सान भयो । चामल किनेर खानुपर्ने भयो’ ढेंगाले भन्नुभयो ।

यस्तै अर्का किसान जसबहादुर थापाको पनि एक बिघा क्षेत्रफलमा लगाएको खेतीमा क्षति पु¥याएको छ । ‘ऋण धन गरेर रोपेको धान सबै पानीले खायो अब, हामीले के खाने ? खेती लगाउँदा नै ५०÷६० हजार खर्च भएको छ । ऋण लिएको तिर्नै छ । सबै सखाप पा¥यो यसपाली पानीले’ थापाले भन्नुभयो ।

फलबहादुर सोमै, तमबहादुर सोमै, कोषबहादुर सिंजाली, दुर्गाबहादुर खनगाहा, तोकबहादुर सिंजाली, नर बहादुरलगायतका सबै किसानको एक बिघा लगाएको धान सबै नोक्सान भएको छ । बगुवनमा १८५ घरधुरी रहेको र ती सबै घरधुरीले धान खेती लगाएका थिए । ती सबैले लगाएको खेतीमा क्षति पुगेको वडा सदस्य सोमैले जानकारी दिनुभयो ।

अहिले यहाँका किसानले जापानी जातको छरुवा धान छर्न सुरु गरेका छन् । १५ जना किसानले छरिसकेको र अन्यले समेत धानको बीउ किनेर ल्याएर छर्ने तयारीमा रहेको अर्का किसान भीमबहादुर खनगाहाले बताउनुभयो । छरुवा धान त्यति राम्रो नफल्ने भए पनि खेत त्यसै बाँझो राख्न किसानको मन सन्तोष नहुने भएकाले छरुवा धान लगाउने निर्णयमा पुगि सबैले जापानी जातको छरुवा धान लगाउन सुरु गरेको खनगाहाको भनाइ छ ।

खेतीमा नोक्सान पु¥याएको र क्षतिपूर्ति उपलब्ध गराउन भनि गाउँपालिकामा निवेदन समेत पेस गरेको वडा सदस्य सोमैले जानकारी दिनुभयो । गाउँपालिका कृषि शाखाका मनोज चापागाईंले खेतीको नोक्सानका बारेमा जानकारी आएको भए पनि क्षतिको विवरण संकलन गर्न कठिनाइ भएको बताउनु भएको छ । नारायणी नदी र विनयी खोलामा बाढी आएका कारण बगुवनमा जान सक्ने अवस्था नरहेकाले खोलामा पानि कम भएपछि मात्रै स्थलगत अनुगमन गर्ने काम हुने चापागाईंले बताउनुभयो । गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले गाउँपालिकाबाट स्थलगत अनुगमन गरी क्षतिको विवरण संकलन गरेर मात्रै क्षतिपूर्तिका बारेमा निर्णय गर्नुपर्ने भएकाले केही समय लाग्ने बताउनुभएको छ ।

बगुवन गाउँ विनयी त्रिवेणी गाउँपालिकाको विकट क्षेत्र हो । नारायणी नदी र विनयी खोलामा पुल नहुँदा वर्षाको समयमा अन्य क्षेत्रसँगको आवतजावत नै ठप्प हुन्छ । बगुबनबासीहरु बाढी आउँदा गाउँपालिकाको कार्यालयमा काम परेर आउन समेत समस्या हुने गरेको खनगाहाले बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>