चितवन विशेष

स्वस्तिकाको ‘कसले भन्यो तिमीलाई…’ सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, साउन १३–

नेपाल आइडलको दोश्रो र तेश्रो संस्करणमा आफ्ना प्रस्तुति दिएर कयौं प्रशंसक बटुलेकी हेटौंडाकी स्वस्तिका ढकालको स्वरमा ‘कसले भन्यो तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

अमृता नेपालको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको उक्त गीत सोमबार साँझ दि डिभाइन म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियो दि क्लिकर्सले निर्माण गरेको हो भने सम्पादन सुनिल एण्ड सेसाले गरेको हो ।

करिब पाँच मिनेट लामो म्युजिक भिडियोमा पनि गायिका ढकाल स्वयंले अभिनय गरेकी छिन् । अरुका कुरा सुनेर टाढिएको आफ्नो प्रेमीसँग उसकी प्रेमिकाले गरेका गुनासा र प्रश्नहरूलाई गीतको प्रमुख विषयवस्तु बनाइएको छ । मिडियाकर्मी समेत रहेर अनुभव बटुलेकी गीतकार अमृता नेपालले गीत विशेषतः युवावर्गलाई लक्षित गरी रचना गरेको बताइन् ।

“गीतमा खास गरी प्रेमिकाका गुनासा समेटिएका छन् । सम्बन्ध जोगाउन हरेक प्रयास गरिरहँदा पनि केही अवस्थामा विछोड हुने रहेछ भन्ने कुरालाई मूल मर्म बनाएकी छु”, अमृताले भनिन्, “कोही तपाईसँगको सम्बन्ध अघि बढाउन चाँहदैन भने तपाई पनि उसलाई भुलेर जिन्दगीलाई नयाँ कोणबाट जिउन सुरु गर्नुहोस् । यो गीतले तपाईलाई आशावादी रहन पनि केही हदसम्म सिकाउने छ ।”

विगतमा आधा दर्जन बढी हिट गीत लेखिसकेकी अमृताले श्रोताहरूबाट सधैं प्रतिक्रियाको आशा रहने पनि कुराकानीमा बताइन् । “इन्टरनेटमा तपाईलाई केही कुरा मन पर्छ भने त्यसलाई सब्स्क्राइब गर्न तपाईले धक मान्नुहुँदैन । केही कुरा सुधार गराउन छ भने सभ्य तरिकाले पनि प्रतिक्रिया दिन सकिन्छ । गालीगलौजको भाषा भने प्रयोग गर्न हुँदैन”, उनले थपिन् । “कसले भन्यो तिमीलाई” बोलको गीत भने स्वस्तिकाकै आग्रहमा तयार पारिएको उनले बताइन् ।

सोमबार नै आफ्नो जन्मदिन मनाएकी स्वस्तिकाले आफ्नो स्वरमा पहिलो गीत सार्वजनिक गर्न पाएकामा खुुशी लागेको बताइन् । सांगीतिक क्षेत्रमा प्रवेश गर्नका लागि आफूलाई उत्प्रेरण दिने सबैप्रति कृतज्ञ रहेको पनि उनले सुनाइन् । आगामी दिनमा यस क्षेत्रमा थप सशक्त रूपमा लाग्नका लागि दर्शक तथा श्रोताहरूबाट प्रतिक्रिया तथा सुझावको अपेक्षा राखेको पनि उनले जानकारी दिइन् । गीतको भिडियो उत्पादनमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>