Breaking News

काठमाडौंमा गरियो राजकुमारको पोष्टमार्टम, परिवारले शव बुझ्न मानेन

Banner

चितवन, साउन १३–

सेनाको कुटाईबाट मारिएका राजकुमार चेपाङको शव काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको छ ।

घटनाक्रम जटिल भएपछि युवकको शव आइतबार साँझ काठमाडौं पठाईएको थियो । उनको सोमबार पोष्टमार्टम गरिएको हो । पोष्टमार्टम रिपोर्ट भने सार्वजनिक गरिएको छैन । युवकको पोष्टमार्टम भए पनि परिवारले शव बुझ्न मानेको छैन । आफूहरुले न्याय नपाएसम्म छोराको शव बुझ्ने पक्षमा परिवार नरहेको संविधानसभा सदस्य एवंम नेपाल चेपाङ संघका निवर्तमान अध्यक्ष गोविन्द चेपाङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘पोष्टमार्टम सम्पन्न भएको छ, रिपोर्ट खुलाइएको छैन, मृतकका बुवा शव नबुझेर चितवन फर्किनु भएको छ ।’
स्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा मृतक राजकुमारको ढाडमा चोटपटक समेत लागेको देखिएको छ । अन्य चिकित्सकले रिपोर्ट हेरेपछि मात्रै रिपोर्ट सार्वजनिक गरिने छ ।

चितवनमा पोस्टमार्टमका लागि दक्ष चिकित्सक नभएको भन्दै आइतबार साँझ नै शव काठमाडौं पठाईएको थियो । ‘काठमाडमौंमा फरेन्सी दक्ष चिकित्सक भएकाले सबैको सहमति काठमाडौं पठाईएको हो’–भरतपुर अस्पतालका मेसु डा.तिवारीले भन्नुभयो । साउन ७ गते राती उपचारको क्रममै भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय चेपाङको शव पाँच दिनदेखि पोष्टमार्टम हुन सकिरहेको थिएन ।

साउन १ गतेका दिन चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले राजकुमारसहित पाँच जना युवालाई कुटपिट गरेको थियो । कुटाईबाट घाइते भएका राजकुमारको स्वास्थ्य अवस्था विस्तारै जटिल बन्दै गएपछि साउन ७ गते राती भरतपुर अस्पताल ल्याईएको थियो । उनको सोही अस्पतालमा राती नै मृत्यु भएको थियो । राजकुमारको शव सोमबार विहान ४ बजे त्रिवि शिक्षण अस्पतालमा पु¥याईएको नेपाल चेपाङ संघ चितवनका सचिव इन्द्रजित प्रजाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘शव विहान ४ बजे काठमाडौं पुगेको छ, पोष्टमार्टमको रिपोर्टपछि अघि बढ्छौं ।’

आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि क्रिया खर्च र शव व्यवस्थापनका लागि एक लाख रुपैयाँ दिने सहमति भएको थियो । शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढाईने चेपाङ संघका सचिव इन्द्रजितले बतानुभयो । उहाँले भन्नुभयो–‘प्रक्रिया अघि बढाउनका लागि पोष्टमार्टमका लागि सहमति भएको हो, बाँकी रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्छ, अन्य विषयमा सहमति भएको छैन ।’

परिवारका अनुसार राजकुमारको घर चितवन राष्ट्रिय निकुञ्जले बनाईने दिने, डेढ वर्षीय छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमता अनुसार रोजगारी दिने आश्वासन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>