मकवानपुर

प्रहरीलाई घुस दिन खोज्ने १० जनालाई कारबाही

Banner

चितवन, साउन १२-

प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभनमा पारी घुस रकम दिन खोज्ने व्यक्तिलाई घुस बापतको रकमसहित पक्राउ गरी कानुनी कारबाही गरिएको छ । त्यस्तै कार्यस्थलमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आज प्रेषित गरेको विज्ञप्तिमा संक्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारबाट भएका विभिन्न निर्णयहरु कार्यान्वयनको लागि नियमित डियुटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई सरकारको निर्देशन उलंघन गर्न खोज्नेलाई घुस वापतको रकमसहित पक्राउ गरिएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ जना गरी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

विशेषगरी सवारी चालकले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटना गराई कानुनी कारबाहीबाट उम्कने र नदीजन्य सामग्री अवैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि डियुटीमा रहेका प्रहरी कर्मचारीलाई ५०० रुपैयाँदेखि पाँच हजार रुपैंयासम्म रकम दिएर प्रलोभनमा पार्न खोजिएपछि उनीहरुलाई रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक जना प्रहरी नायब निरीक्षकसहित चार जनालाई पुरस्कार प्रदान गरेको उल्लेख छ । त्यसैगरी आज वाग्मती प्रदेश प्रहरी कार्यालयले थप तीन जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार (नियमानुसार पाउने) प्रदान गरेको छ । पुरस्कार पाउनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवान दुई जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एक जना प्रहरी जवान रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>