Breaking News
निकुञ्ज घटना: सत्यतथ्य बुझ्न मानव अधिकारवादीहरु चितवनमा

चितवन, साउन ११-
चितवनको माडी र राप्तीमा भएका चेपाङ समुदायमाथि आक्रमणका घटनाहरुबारे बुझ्न काठमाडौँका मानवअधिकारवादीहरुको टोली चितवन आएको छ ।मानवअधिकारको क्षेत्रमा काम गर्दे आएका संस्थाहरु मानवअधिकार परिषद् इन्सेक, एड्भोकेसी फोरम र थर्ड एलान्सको टोली चितवन आएको हो । टोलीले घटनासँग सम्बन्धित सरोकारवालाहरुसँग आज छलफल र अन्तरकृया गरेको छ । मानव अधिकारवादीहरुको एउटा टोलीले हिजो र आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसंग जानकारी लिँदै घटनाका पीडितहरुसँग छलफल गरेको छ । इन्सेक, एड्भोकेसी फोरमको टोली भोलि (सोमबार) घटनास्थलतर्फ जाने इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।
त्यसैगरी मानव अधिकार परिषद् नेपालको प्रतिनिधि मण्डल पनि अध्ययनको लागि चितवनमा नै छ । परिषद्को तर्फबाट अध्ययनमा खटिएका तुलसी थापाले यथार्थ कुराहरु के छ भनेर जिल्लामा अध्ययन गरिरहेको बताए । उनले सेनाको कुटपिटबाट राप्तीका चेपाङ युवाको मृत्यु हुनु ज्याजतीपूर्ण घटना भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हामी राप्ती नगरपालिकामा गएर पीडितको परिवारसँग भेटघाट ग¥यौं । जंगलमा नै आश्रित सो गरिब परिवारलाई सेनाले गरेको ज्याजती निकै दुःखद रहेको छ । ’ उनले साउन ७ गते भएको घटनाको आज झण्डै एक हप्तासम्म पनि पोष्टमार्टम हुन नसकेको बताए । त्यसैगरी मानवअधिकारवादी थापाले माडीमा भएको घटना पनि निकै दुःखद भएको बताए । यस्तै परिषद सदस्य अन्जु बुढाथोकीले पिडितलाई न्याय दिलाउन आफुहरु निरन्तर लागिरहेको बताइन ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई साउन १ गते पिटेका राप्ती नगरपालिका २ मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङको साउन ७ गते मृत्यु भएको थियो । ७ गते नै अस्पतालमा उपचारका लागि ल्याएको र त्यसअघि गाउँकै मेडिकलमा उपचार गरिए पनि उनलाई परिवारले बचाउन सकेनन् । सेनाले पानीमा सुताएर लाठी र लात्ताले हानेको, गहुङगो भारी बोक्न लगाएको, सय चोटी उत्तानो र घोप्टो पुस अप गर्न लगाएको नियन्त्रणमा लिइएका अर्का युवा सन्तलाल चेपाङले बताएका थिए ।
राजकुमार सहित सात जनालाई सेनाले नियन्त्रणमा लिएका थिए । सात जनामा दुई जना महिला थिए । निकुञ्ज सुरक्षा लिएको बटुकदल गणका गणपति अरुण श्रेष्ठले घटनाको अस्वीकार गर्दै आएका छन् । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी नगरपालिका–९ कुसुमखोलास्थित चेपाङका दुई घरमा आगो लगाइदिएको थियो । आगजनीबाट चेपाङ परिवारका नागरिकतासहितका कागजपत्र र अन्नपात पनि जलेर नष्ट भएको थियो । मध्यवर्ती क्षेत्रमा पर्ने कुसुमखोलास्थित त्यस बस्तीमा २०४८ सालदेखि १५० धेरै घरपरिवार बसिरहेका थिए। त्यहाँ हाल ११ घर परिवार मात्रै बस्दै आएका थिए।























