चितवन विशेष
पत्रकार पराजुलीको ‘कुमाता’ माथि पाठक अन्र्तक्रिया

चितवन, साउन १०–
पत्रकार तथा कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासंग्रह माथि शनिबार एक कार्यक्रम बीच पाठक समीक्षा गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले कृति माथि समीक्षा गर्दै कुमाता कथासंग्रहले समाजमा हुने यौन जन्य विकृतिहरु उजागर गरेको धारणा ब्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको ‘कुमाता’ कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रेहेको बक्ताहरुले औल्याए ।
कार्यक्रममा बोल्दै साहित्यकार तथा चितवन साहित्य परिषद्की पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसगै उग्रचण्डी पनि भएको बताउनुभयो । कुमाता कथासग्रह भित्र रहेका कथाहरुको भाषा सरलता, नारी संवेदनशिलताका पक्षमा जोडका साथ उठेको भनाई उहाँको छ ।
यस्तै महिला अधिकारकर्मी मिना खरेलले पछिल्लो समय समाजमा देखिएका विकृति विसंगतिलाई कथाका रुपमा आएको बताउनुभयो ।
चितवन साहित्य परिषदका अध्यक्ष शुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आन्चलिकताले कथा मार्मिक र सुन्दर बनेको बताउनुभयो । समिक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषय वस्तुसँगै साहित्यीक बन्नुपर्ने कुरामा जोड दिनुभयो भने अर्का समिक्षक प्राध्यापक शान्ति शर्मा, प्राध्यापक कपिल अज्ञात लगाएतले कथा भित्र नाटकिय तत्व थप्नुपर्नेमा जोड दिएका छन् ।
रामेश्वर पुस्तकालयको आयोजनामा भएको सो कार्यक्रममा साहित्यकार केदार खनालले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ‘कुमाता’का लेखक वसन्त पराजुलीले ‘कुमाता’ कुनै पनि कथाका सिद्धान्त, मान्यता र कुनै पनि दर्शनलाई नपच्छाएकाले मौलिक बनेको धारणा राख्नुभयो ।
पराजुलीका कथासङ्ग्रहलाई भुँडिपुराण प्रकाशन प्रालीले बजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुमा केन्द्रित छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको कुरामा समिक्षकहरुले जोड दिएका थिए ।
कार्यक्रम पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























