Breaking News
प्रधानमन्त्री ओली तर्फ संकेत गर्दै प्रचण्डले भने – बैठक बस्न पनि ठूलो कसरत गर्नुपर्ने अवस्था आयो

काठमाडौं, साउन ९-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टी सामूहित नेतृत्वमा चल्नुपर्ने बताएका छन् ।
शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जलि कार्यक्रमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी सामूहिक निर्णय, नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा चल्नुपर्ने बताएका हुन् ।
‘पार्टीको बैठक बस्न पनि निकै ठूलो कसरत गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘बैठक बसिहाले पनि त्यसको गरिमालाई ख्याल गर्न सकेनौँ कि?’
अध्यक्ष प्रचण्डले नेकपामा सामूहिक नेतृत्व भनिए पनि त्यस्तो नभएको बताए । ‘सामूहिक नेतृत्व त भन्यो तर दुई वर्षसम्म केन्द्रीय समितिको बैठक राख्न सकेनौँ’, उनले भने ।
प्रधानमन्त्री ओलीकै निर्देशनमा देशभर जुलुस निकालिएको समेत दाहालले बताए। उनले भने, “देशभरबाट साथीहरुले हामी के गर्ने भनेर सोध्छन्। मैले धैर्य हुनुहोस् भनेको छु। हामी एकताको पक्षमा उभिने हो।”
दाहालले जनताको बहुदलीय जनवाद र माओवादको पक्षमा जुलुस निकाल्नु एकताको पक्षमा नहुने बताए। “हामीले जबज र माओवादको जुलुस निकाल्ने होइन, त्यसले एकतालाई बलियो बनाउँदैन”, उनले भने। जबज र माओवाद निषेध गर्न नभएर उच्च मूल्याङ्कन गरिएकाले परिमार्जित बिचारबारे छलफल चलाउनुपर्ने उनको भनाइ छ।























