चितवन विशेष
जापानका व्यवसायी गैरेद्वारा चितवनका बाढीपीडितलाई राहत

चितवन, साउन ८
एनआरएन जापान कान्साइका उपाध्यक्ष तथा स्टारगु्रप जापानका संरक्षक व्यवसायी दिलिप शर्मा गैरेले चितवनका बाढीपीडितलाई राहत स्वरुप एक लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।
भरतपुर महानगरपालिका–१० घर भई हाल जापानमा होटल व्यवसाय गर्दै आएका व्यवसायी गैरेले वाढीपीडितको लागि आर्थिक सहयोग स्वरुप बुधबार नगद एक लाख रुपैयाँ भरतपुर महानगरपालिका नगरप्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा महानगर प्रमुख दाहालले कोरोनाको विषम परिस्थितिमा पनि बाढीपीडितलाइ आर्थिक सहयोग गरेकोमा यूवा व्यवसायी गैरेलाई विशेष धन्यवाद दिइन् । उनले यस्ता सहयोगीको सधै आवश्यकता पर्ने बताउँदै सहयोग गरेको रकम महानगरको प्रकोप व्यवस्थापन खातामा राखी बाढीपीडित परिवारलाई उद्धार गरिने बताइन् । त्यसैगरी मेयर दाहालले कोरोनाको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग तथा स्वास्थ्य सामग्री आएको तर यस वर्षको बाढीपीडितलाई सहयोग गर्ने पहिलो व्यक्ति भएको भन्दै गैरेको प्रशंसा गरिन् ।
त्यसैगरी चितवन समाज कान्साइका सल्लाहकारसमेत रहेका व्यवसायी गैरले यस्तो विषम परिस्थितिमा पनि नेपाल आई बाढीपिडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । सो रकमले पीडित परिवारको उदारमा खर्च हुने विश्वास व्यक्त गरे । सो अवसरमा व्यवसायी गैरेले बुधबार नै देवघाटका बृद्धवृद्धालाई पनि साँझ खाना खुवाएका छन् । गैरे यस वर्षको बाढीपहिरोमा चितवनमा सहयोग गर्ने पहिलो व्यक्ति भएको महानगरले जनाएको छ । त्यस्तै गैरेले बुधबार देवधाट क्षेत्र विकास समितिअन्र्तगत रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएको पत्रकार सुमन गैरेले बताए ।
























