Breaking News
नारायणीको कटानले तटीय क्षेत्रका बासिन्दा त्रासमा, रातभर जाग्राम

ज्ञानु पंगेनी
नवलपुर, साउन ५
लगातारको वर्षाका कारण नवलुरको नारायणी नदी किनारका जमिन कटान तीव्र हुँदा तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
नारायणी नदीमा सोमबार ठूलो बाढी आएको छ । नारायणी नदीमा पानीको बहाबले सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रका अनुसार जल सतह सतर्कता तह पार गरेको जनाएको छ । नदीमा बहाव बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन नवलपुर प्रशासनले आग्रह गरेको छ ।
नारायणी नदीले गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका गरी पाँच वटा स्थानीय तहलाई छोएर बगेको छ । यी पाँच वटै स्थानीय तहका नारायणी नदी आसपासमा बसोबास गर्ने बासिन्दा नदीको कटान तीव्र हुँदा घरजग्गा सबै नदीमै बग्छ कि ? भन्ने पिरले निदाउन सकेका छैनन् । नारायणी नदी किनारमा रहेका साना ठूला होटल तथा रिसोर्टसमेत कटानको चपेटामा परेका छन् । मध्यबिन्दु नगरपालिका–३ मा रहेको ग्रिन रिभर रिसोर्टको कटेजहरु नदीले कटान गरेको स्थानीय अमर थनेतले जानकारी दिए । नदी किनारमा रहेका दर्जनौ होटल रिसोर्ट नदीको कटानको चपेटामा परेको उनले बताए ।
नारायणी नदीले जिल्लाको मध्यबिन्दु नगपालिकामा बढी क्षति पु¥याएको छ । नदीले मध्यबिन्दुको रतपुर, नन्दपुर, सेहरी, सितापुर, भिउरान, तमासपुर , वरुवा, भडारालगायतका स्थानमा तीव्ररुपमा कटान गरिहेकाले यी गाउँहरु डुबानको जोखिममा परेका छन् । नन्दपुर निवासी केशरी मगरले नारायणी नदीमा ठूलो बाढी आएकाले आफूहरु रातभर सुत्नै नसकेको रातिको समयमा बाढी गाउँ पस्छ कि भन्ने त्रासैत्रासमा जाग्राम बस्नुपरेको दुःखेको पोखिन् । कटान रोक्न ढुंगा र बालुबा किनारमा राख्ने काम गरेको भए पनि नदीको बहावले त्यसलाई समेत कटान गरेर बस्तीतर्फ बढिरहेको मगरले गुनासो गरिन् ।

विभिन्न ठाउँमा डुबान
लगातारको वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । जिल्लाको चोरमारा बजार डुबानमा परेको छ । चोरमारा बजारमा रहेको मध्यबिन्दु नगरपालिका, सशस्त्र प्रहरी कार्यालय, प्रहरी चेक पोष्ट डुबानमा परेको छ भने नजिकै रहेको चोरमाराको सुकुमबासी बस्ती समेत डुबानमा परेको छ । पानीको निकास नभएपछि बजार क्षेत्र डुबानमा परेको हो ।
यस्तै कावासोती नगरपालिकाको बजार क्षेत्रमा समेत पानीको निकास नभएपछि पूर्वपश्चिम राजमार्गमा पानीको भल बगेको छ । कावासोतीको सभापतिचोकमा राजमार्गमा पानी भरिँदा आवतजावत गर्ने यात्रु र सवारीलाई सास्ती भएको गुनासो गरेका छन् । राजमार्ग छेउछाउका कतिपय बासिन्दाले नाला नै मासेर संरचना बनाएका कारण पानीले निकास पाउन नसक्दा वर्षा भए लगत्तै यहाँ पानीको भल बग्ने गरेको छ । कावासोती नगपालिका वडा नम्बर ३ ले केही दिन अघि सूचना नै निकालेर वडाबासीलाई नाला मिचेको भएर खाली गरेर निकास दिन आग्रह समेत गरेको थियो ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले राजमार्ग विस्तार गर्नेक्रममा रहेको हुँदा दिर्घकालीन रुपमा समाधान गर्न नगरपालिका असमर्थ रहेको बताएका छन् । उनले समय समयमा गिट्टी राखेर पुर्ने काम गरेको तर पानीको निकास नहुँदा अप्ठेरो परेको बताए । यसैगरी जिल्लाको हुप्सेकोट, गैँडाकोटका कतिपय क्षेत्र समेत डुबानमा परेको छ ।
























