चितवन विशेष
भरतपुरमा धमाधम वडा कार्यालय निर्माण हुँदै

चितवन, साउन १ –
भरतपुर महानगरपालिकामा जनप्रतिनिधि आएपछि वडा कार्यालयहरु व्यवस्थित बन्दै गइरहेका छन् । भाडाको भवनमा सञ्चालन भएका वडा कार्यालयहरु आफ्नै भवन निर्माण गरेर सरेका छन् भने अन्य वडा कार्यालयको आफ्नै भवन बन्ने क्रम जारी छ ।
जनप्रतिनिधि आएपश्चात नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि भरतपुर महानगरपालिकाले हरपल प्रयास गरिरहेको महानगर प्रमुख रेनु दाहालले बताइन् । जनताले महसुस गर्ने गरी सेवा प्रदानका लागि वडा कार्यालय व्यवस्थित पार्नुका साथै आफ्नै भवनमा सार्ने काम भइरहेको दाहालले बताइन् । उनकाअनुसार पछिल्लो तीन वर्षको अवधिमा महानगरपालिकाको चार वडा कार्यालय आफ्नै भवनमा सरेका छन् ।
भरतपुर महानगरपालिकाको ७, १३, १७ र २८ नम्बर वडा कार्यालयले नयाँ भवन निर्माण गरी आफ्नै भवनबाट सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, महानगरपालिकाको वडा नम्बर २, ५, १०, १२, २३ र २८ को आफ्नै भवन निर्माणको लागि काम भइरहेको नगर प्रमुख दाहालले बताइन् । बाँकी वडा कार्यालयका भवनहरु मर्मत गरेर काम भइरहेको दाहालले बताइन् ।

भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर रत्न लामिछानेले महानगरपालिकामा जनप्रतिनिधि आएपछि भवन निर्माण तथा मर्मतका लागि करिब ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको जानकारी दिए । त्यस्तै करिब १० करोड ७० लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माणको काम भइरहेको लामिछानेले नारायणी अनलाइनलाई जानकारी दिए । भरतपुर महानगरपालिकाको चार नयाँ वडा कार्यालय पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
त्यस्तै, महानगरपालिकाका वडा कार्यालयहरुको पुरानो भवन मर्मतका लागि करिब ६ करोड ५० लाख रुपैयाँ खर्च भएको डिभिजनल इन्जिनियर लामिछानेले बताए । उनकाअनुसार महानगरका १, ३, ४, ६, ८, ९, ११, १४, १५, १६, १८, २०, २१, २४, २५, २६ र २९ नम्बर वडा कार्यालयहरु मर्मत गरेर सञ्चालन भइरहेका छन् । भवन पुराना र साँघुरा भएका वडा कार्यालयहरु आफ्नै भवनमा सार्ने गरी काम भइरहेको लामिछानेले बताए ।
























