Breaking News
चितवनका माडीबासीले भने : भगवान राम यतै जन्मेजस्तो लाग्छ

चितवन, साउन १
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा दिएको अभिव्यक्तिपछि माडीका स्थानीय खुसी भएका छन् ।
सामाजिक सञ्जालदेखि विदेशी मिडियारुपमा सधै पछाडि परेको यस क्षेत्रले चर्चा पाएपछि उनीहरुलाई साच्चै भगवान राम यतै कतै जन्मिएका हुन् कि भन्ने लाग्न थालेको हो । माडी नगरपालिकाले स्थानीय धार्मिक अभियन्ताहरु बोलाएर रामको जन्मबारेको यथार्थ तथ्य पत्ता लगाउन छलपल पनि सुरु गरेको छ । उनीहरुले रामको जन्मभूमि अयोध्यासँग जोडिएका ऐतिहासिक तथ्य संकलनमा तदारुकता देखाउनुपर्ने बताउन थालेका छन् ।
अयोध्या नेपालमै पर्छ भनेर प्रधानमन्त्रीले दाबी गरेपछि सो क्षेत्रका स्थानीयबासी तथा जनप्रतिनिधिहरु उत्साही भएका छन् । भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका ठाउँहरू ठोरी र माडीमा रहेको तर्क उनीहरूले अघि सारेका हुन् ।
माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो आफूहरुलाई भगवान राम यतै कतै माडी, ठोरी क्षेत्रतिर नै जन्मिएका हुन् भन्ने लाग्न थालेको नारायणी अनलाइनलाई विचार राखिन् । उनले भनिन्, ‘वाल्मीकि आश्रम, सामेश्वर पर्वतलगायतका धेरै रामायणसँग जोडिएका ऐतिहासिक र धार्मिक क्षेत्रहरु माडी क्षेत्रमा नै रहेका छन् । अधिकांश ठाउँहरु भगवान राम र सीतासँग सम्बन्धित भएकोले राम यतै जन्मिएको भन्ने कयौं आधारहरु रहेका छन् ।’ माडीबाट ठोरी हुँदै रामनगर पनि पुग्न सकिने उनले बताइन् । रामनगर भारतमा परे पनि पहिले नेपालकै भूभाग भएको उनले बताइन् । प्रधानमन्त्रीको अभिव्यक्तिपछि पहिले ओझेलमा परेको यस क्षेत्रको उत्खनन् गर्नुपर्छ भन्ने आफूहरुलाई पनि लागेको उनको विचार थियो ।
साबिक अयोध्यापुरी गाविस र अहिलेको माडी नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधि कृष्णराज अधिकारीले प्रधानमन्त्रीले रामको जन्मबारे दिएको अभिव्यक्ति स्वभाविक भएको विचार राखे । उनले भने, ‘ झण्डै २० वटा धार्मिक धामहरु यस क्षेत्रमा रहेका छन् । रामको जीवनसँग सम्बन्धित रामसीताका गुफा, वाल्मीकि आश्रम यतै छन् ।’ झण्डै ५०० वर्ष पुरानो इँटाहरु पनि यस क्षेत्रमा भेटिने भएकोले थप उत्खनन् जरुरी भएको उनले नारायणी अनलाइनलाई बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडी नगरपालिकाका अध्यक्ष प्रभुप्रसाद महतो पनि प्रधानमन्त्रीको अभिव्यक्तिपछि आमसञ्चारका माध्यमहरुमा यस क्षेत्रको चर्चा परिचर्चा हुनु खुसीको कुरा भएको बताए । उनले प्रधानमन्त्रीको सकारात्मक कुरा भएकोले यस क्षेत्रमा थप खोज अनुसन्धानको आवश्यकता पर्ने विचार राखे ।
माडी–ठोरी क्षेत्रमा के के छन् धार्मिक स्थल ?
ठोरी गाउँपालिका–२ स्थित सोमेश्वर पर्वतको काखमा सीता गुफा रहेको छ । सीता गुफादेखि दक्षिणतर्फ भारतको वाल्मीकि व्यग्र परियोजनाअन्तर्गतको जंगल छ । भगवान सीताले अयोध्या त्यागेपछि वनबास जीवन बिताउने क्रममा यसै गुफामा बसेर तपस्या गरेको किंवदन्ती छ । अयोध्याका राजा रामको आज्ञा पालना गर्दै लक्ष्मणले सीतालाई वनमा लगेर छाडिदिएपछि सीता भौँतारिँदै यस क्षेत्रमा आएको भनाइ छ । अयोध्याका प्रजाले लगाएको कलंकबाट सीता प्रताडित थिइन् । सीता भौँतारिँदै वनवनै डुल्ने गर्थिन् । वनजंगल घुम्ने क्रममा सीता संसारी डाँडाको प्राकृतिक मनोरमबाट प्रभावित बनेको भनिन्छ ।
भगवान् रामको तपस्या गर्ने पवित्रस्थलको रूपमा सीताले यसै गुफालाई प्रयोग गरेकी थिइन् । गुफा वरपरका चारैतिर हरियाली, दुई खोलाको संगम स्थल, मनोरम दृश्यमा रम्दै सीताले गर्भवती हुँदा महिलामा हुने प्रसव पीडा भुल्ने गरेको जनविश्वास छ ।
गुफाको नजिकै रहेको अजंगको चट्टानमा सीताले शिवलिङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन् । जुन शिवलिङ्गको आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित छ । ठोरीको जंगलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मीकि आश्रम पुगेको जनविश्वास छ ।
वाल्मीकि आश्रम अहिले महत्वपूर्ण धार्मिकस्थलको रूपमा प्रख्यात छ । माडीमा अवस्थित साविकको अयोध्यापुरी गाविसको वडा नम्बर ६ मा अयोध्या भन्ने ठाउँ छ । राम यहीँ जन्मेको आधारमा सो ठाउँको नाम अयोध्यापुरी राखिएको भन्ने गरिन्छ ।
माडीकै वडा नम्बर १ मा वाल्मीकि आश्रम छ । ठोरी–माडी क्षेत्रमा अयोध्या भएको प्रसंग पनि मिल्ने गरेको छ । वाल्मीकि आश्रममा सीता बसेको, लव–कुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण छ । वाल्मीकि आश्रम त विश्वकै हिन्दूका लागि पवित्र धार्मिकस्थल पनि हो । अयोध्यापुरीबाट वाल्मीकि आश्रममा सीता आएको प्रसंग तर्कसंगत पनि देखिन्छ । वाल्मीकि आश्रम माडी नगरपालिका वडा नम्बर १ सँग जोडिएको क्षेत्रमा अवस्थित छ । तर त्यहाँ पुग्नका लागि माडीवासीको पहुँच नै छैन । वाल्मीकि आश्रम पुग्नका लागि माडीवासी चितवनको नारायणगढ, त्रिवेणी हुँदै भारतीय भूमि पुगेर मात्रै त्यहाँ पुग्न सकिन्छ । माडीको पाण्डवनगरबाट हिँडेर जाने हो भने करिब २६ किलोमिटर दुरीमा पर्छ । तर सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकोले माडीवासीको सहज पहुँचमा छैन ।
माडी नगरपालिकाका प्रत्येक वाडमा कुनै न कुनै ऐतिहासिक र धार्मिक महत्वको ठाउँ रहेका छन् । संकट मोचन धाम, शिद्धि गणेश मन्दिर, छरछरे धाम, सोमेश्वर गढी, गोद्धक धाम, परशुराम कुण्ड, विक्रम बाबा धाम, द्रौपति गुफा, कैलाश पर्वतलगायत यहाँका मुख्य ऐतिहासिक मन्दिरहरु हुन् ।
फाइल फोटो
























