Breaking News

नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुस्त, डिजाइनिङमा नै एक वर्ष लाग्ने

Banner

चितवन, असार ३०-

पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्न निर्माण गर्ने भनिएको सिग्नेचर पुल निर्माण कार्यमा ढिलाइ भएको छ ।

विसं २०३८ सालमा बनेको पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो । विदेशी विज्ञको सहयोगमा बनाइने यो पुल नेपालकै लागि नयाँ अभ्यास भएकोले पनि समय लाग्ने विज्ञहरुले बताएका छन् । भौतिक मन्त्रालयअन्तर्गत पुल महाशाखा प्रमुख दिपक भट्टराईले पुल निर्माणको प्रारम्भिक सर्वेक्षणको काम मात्र सुरु भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ देशका विभिन्न ठाउँमा बन्ने १० वटा सिग्नेचर पुल मध्ये चितवनमा बनाउन लागेको पहिलो हुनेछ । यसको प्ररम्भ्कि सर्वेक्षण भएको छ । माटोको परीक्षण लगायतका काम अझै बाँकी नै छ । ’ यो निकै समय लाग्ने परियोजना भएकोले पनि छिट्टै काम सक्न निकै गाहे भएको उनले बताए । भट्टराईले भने, ‘ गत वर्ष मात्र विश्व बैँकसँग पुलको डिजाइनिङको लागि सम्झौंता भएको हो । लकडाउनका कारणले पनि निर्माणका काममा केही ढिलाइ त भएकै छ ।’

नारायणी नदीको अहिलेको पुल पुरानो र जीर्ण बन्दै गएकोले पनि छिटै अर्को नयाँ पुल बनाउनु पर्ने आवश्यकता छ । महाशाखा प्रमुख भट्टराईले सडक विभागले नै बनाउने यो पुलको सर्वेक्षणको सबै काम सकिएपछि डिजाइनिङको काम सुरु हुने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय विज्ञहरुको सहयोग पनि लिनुपर्ने भएकोले केही ढिलो भएको हो । सर्वेक्षण र डिजाइनिङको काममा नै झण्डै एक वर्ष लाग्छ । त्यसपछि मात्र निर्माणको लागि कन्सल्टेन्ट तोक्ने काम हुनेछ ।’

चार लेनको रहने यो अहिलेको पुलभन्दा उत्तरतिर निर्माण गरिने महाशाखाले जानकारी दिएको छ । यो पुल बनाउन बनउन चीनका वरिष्ठ प्राध्यापक चेनले सात महिना अघि पुल निर्माण स्थलको भ्रमण गरेका थिए । सडक विभागको पुल महाशाखाका प्रविधिकहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालिम पनि दिएका थिए । महाशाखाले नारायणी नदीसँगै देशका विभिन्न १० वटा नदीमा अहिलेसम्मकै सबैभन्दा सुन्दर सिग्नेचर पुलहरु निर्माण गर्न लागेको हो ।

चारसय मिटर लामो सो पुल यस आर्थिक वर्षभित्र पुलको डिजाइन सम्पन्न गरी टेण्डर गर्ने भनिए पनि डिजाइनिङमा नै ढिलाइ भएको छ । विश्व बैंकले महाशाखाका प्रविधिज्ञहरुको क्षमता अभिवृद्धि गर्न र दुवैतर्फ घना वस्ती भएका १० नदीहरुमा सिग्नेचर पुल निर्माणमा सहयोग गर्न रुचि देखाएपछि काम अगाडि बढेको हो । देशका राजमार्गमा एक हजार ७०० पुल रहेका छन् । नारायणी नदीसँगै बुटवलको तिनाउ, सर्लाहीको बागमती, तनहुँको दमौली, पोखराको पृथ्वीचोक लगायतका ठाउँमा सिग्नेचर पुल निर्माण गर्ने तयारी गरिएको छ ।

डिजाइन सम्पन्न भएपछि यकिन खर्च रकम आउने भए पनि यो पुल बनाउन करिब एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान विज्ञहरुले गरेका छन् । नारायणी नदीमाथिको हाल रहेको पुलको आयु ७० वर्ष छ । अब बन्ने पुल भने एक सय वर्ष आयुको हुने बताइएको छ । विसं २०३८ सालअघि नारायणी नदीमा डुंगा (फेरी) को सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।

कस्तो हुन्छ सिग्नेचर ब्रिज ?

सिग्नेचर ब्रिज सामान्य पुल भन्दा फरक खालका हुन्छन् । विशेष कलात्मक हुन् । सामान्य मोटरेबल पुल जस्तै भए पनि आकर्षक र नयाँ प्रविधि प्रयोग गर्दै निर्माण गरिन्छ । यो झट्ट हेर्दा झण्डैं नेटवर्क आर्क ब्रिज जस्ता देखिन्छन् । तर यस्ता पुललाई आर्क भन्दा अझ आकर्षक मानिन्छ ।

पुलमा लाइटहरु जडान गरिएको हुनेछ जसका कारण रातमा समेत जीवन्त देखिन्छ । युरोपमा यी प्रविधिका पुलहरु अत्यन्तै धेरै देख्न पाइन्छ । पर्यटक र शहरी सौन्दर्यका हिसाबले पनि यस्ता पुललाई महत्वपूर्ण मानिन्छन् ।

(प्रतिकात्मक फाइल फोटो)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>