कर्पोरेट
साउन १ गतेबाट बैंकका कर्मचारीले बोनस नपाउने

काठमाडौं, असार ३०-
नेपालमा बैँकका कर्मचारीहरुले साउन १ गतेबाट नाफाको बोनस नपाउने भएका छन् ।
हिजो नर्मल अवस्था थियो, पैसा फटाफट आइरहेको हुन्थ्यो। त्यसलाई आधार मानेर बोनस बाँडिन्थ्यो, बैँकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘अब त कति पैसा उठ्छ भन्ने पनि छैन। त्यसैले बोनस बाँड्न गाह्रो छ।’ नगदमा नआएको र पाकेको ब्याज आम्दानीलाई राष्ट्र बैंकले रेगुलेटरी रिजर्भमा लैजाने ब्यवस्था गरेको छ। साथै ऋण तिर्न समय दिए पनि त्यसको जोखिम वहनका लागि निश्चित प्रतिशत नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गराउने तयारी पनि राष्ट्र बैंकले गरेको छ।
‘हार्ड हिट सेक्टरलाई पुनर्संरचना, पुनर्तालिकीकरण गर्ने, राहत दिने कुरा त भयो, तर प्रोभिजनिङ नै नगर्ने कुरा त भएन’, उनले भने, ‘केही न केही त प्रोभिजनिङ गर्नु पर्छ भन्ने हाम्रो पनि राय हो।’
राष्ट्र बैंक स्रोतका अनुसार, हार्ड हिट सेक्टरका ऋणलाई कम्पनीमा वाचलिस्टमा राख्ने तयारी भइरहेको छ। अहिले वाचलिस्टमा प्रवाहित भएको ऋणको ५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने ब्यवस्था छ। असल ऋणमा १ प्रतिशत गर्नु पर्छ। पाँच प्रतिशत गर्ने की ३ र ४ प्रतिशत मात्रै गर्ने भनेर हामी छलफलमा छौैं, ती अधिकारीले भने, ‘वित्तीय क्षेत्रलाई दरिलो बनाउन पनि प्रोभिजनिङ गर्नु पर्छ।’ प्रोभिजनिङ पनि गर्ने अनि ब्याज पनि नआउने भएपछि बैंकका कर्मचारीलाई बोनस दिने पैसा नहुने बैंकरको बुझाइ छ।
























