Breaking News
धानखेतमा मनपरी प्लटिङ गर्दा भरतपुरका विभिन्न क्षेत्र जलमग्न

चितवन, असार २९-
भरतपुर महानगरपालिका–११ बसेनी र भोजाड क्षेत्रका केही क्षेत्र निरन्तरको वर्षापछि जलमग्न भएका छन् ।
धानखेतमा मनपरी प्लटिङ गरेर घडेरी बिक्री गर्दा यस्तो समस्या आएको हो । विशेष गरी बसेनीको मृगकुञ्ज टोल, गोरखाली टोलका साथै भोजाड क्षेत्रको मुक्तिनगर, पुरानो शान्ति विद्यागृह क्षेत्र र पोखरीचोक क्षेत्रमा धेरै पानी जमेको छ । भरतपुर महानगरपालिका–११ का वडा अध्यक्ष बाबुराम अधिकारीले वडाका केही क्षेत्रहरुमा पानी जम्नुका साथै होचा घरहरुमा पानी पसेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पानीको निकास हुने घोल पुरेर मनपरी प्लटिङ गर्दा यस्तो समस्या आएको हो ।’ पानीको सहज व्यवस्थापन हुने गरी बस्तीको विकास नहुँदा समस्या आएको उनले बताए । उनले वडा कार्यालय पानीको उचित व्यवस्थापन गर्ने कार्यमा खटिरहेको दाबी गरे ।

बसेनीको मृगकुञ्ज टोलको हरियाली मार्गमा पनि मानिस पैदल नै हिड्न नसक्ने गरी पानी जलमग्न भएको छ । स्थानीय पम्फा गिरीले घरबाट निस्कन पनि नसकिने गरी बाटोमा पानी तालिइएको बताइन् । प्लटिङ वालासँग हिउँदमा जग्गा किनेर घर बनाइयो तर वर्षा याममा भने हरेक वर्ष पीडा हुने गरेको छ । समस्या समाधानको लागि टोलको अध्यक्ष र वडा अध्यक्षसम्म निवेदन बोकेर पटकपटक जाँदा पनि एक टिप ग्राभेल पनि पाउन नसकेको उनले गुनासो गरिन् । हिड्ने बाटोमा पुरै पानी जमेर समस्यामा परेकी टोलकै अर्काे स्थानीय बच्चु नेपालीले पानी तालिएर समस्या पाएको भन्दै सरोकारवाला निकायमा जाँदा पनि कसैले वास्ता नगरेको नारायणी अनलाइनलाई गुनासो गरिन् । उनले भनिन्, ‘स्मार्ट सिटी बन्ने भनिएको महानगरमा हिड्न नमिल्ने गरी हिलोमा हिड्दै बस्नु परेको छ । ग्राभेल हालेर अस्थायीरुपमा हिड्ने व्यवस्था गरौं भनेको पनि कसैले सुनेन । विकास पनि राजनीतिक पहुँचवालाको क्षेत्रमा मात्र हुने रहेछ ।’ बाटोमा पानी जलमग्न हुँदा बालबालिका, अशक्त र वृद्धवृद्धा हिडडुल गर्न समस्या भएको छ ।
























