Breaking News
गृहमन्त्रीले भने – भारतीय हस्तक्षेपका कारण तराई डुवान भयो

काठमाडौँ, असार २९–
गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण नेपालमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले वितण्डा मच्चाएको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् ।
‘भारतले आफू अनुकुल हुने गरी सीमामा बाँध बनाएको छ । जसले गर्दा नेपालमा क्षति भइरहेको छ’, गृहमन्त्री थापाले भने, ‘बाह्य हस्तक्षेपका करण पनि नेपालमा प्रकोप बढेको छ ।’
‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’
उनले सीमामा आफ्नो मात्रै हितमा बाँध बनाउनु एक किसिमको राजनीतिक हस्तक्षेप नै रहेको बताए ।
नेपाल सरकारले पटक पटक सीमामा बनाइएका बाँधबारे कुरा उठाए पनि भारतले अटेर गरेको गृहमन्त्री थापाको आरोप थियो ।
उनले भने, ‘सरकारले पहल नगरेको होइन । उनीहरुले आफ्नो हितमा काम गर्दा हामीलाई समस्या भयो ।’
उनले सीमाको बाँधबारे समस्या समाधान गर्न पटक– पटक प्राविधिक कार्यदल गठन भए पनि त्यसको सुझाव लागु नभएको बताए ।
यस्तै गृहमन्त्री थापाले नेपालमा प्राकृतिक कारणले नभई मानवीय कारणले प्राकृतिक विपत्ति निम्तिएको बताए ।
‘अवैज्ञानिक विकास नै विपत्तिको मुख्य कारण हो’, गृहमन्त्रीले भने, ‘राज्यले कानुन पनि बनाएको छ तर प्रभावकारी कार्यान्नयन भएको छैन ।’
भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने ।
उनले हाम्रा प्रयासहरुले प्रकोप कम गर्न सकिने तर विपत्तिको दोष प्रकृतिलाई दिन नमिल्ने बताए । कतिपय अवस्थापमा अज्ञानताका कारणले पनि क्षति बढेको उनले बताए ।
























