Breaking News
पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैनः प्रचण्ड

चितवन,असार २८-
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा चितवनले आयोजना गरेको कार्यक्रमलाई करिब २७ मिनेट सम्बोधन गरेका अध्यक्ष प्रचण्डले भने, ‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’
अध्यक्ष प्रचण्डले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने बताए । र, यसका लागि नेतृत्वलाई खबरदारी गर्नसमेत उनले चितवनवासीलाई आग्रह गरे । ‘मेरो तपाईं सबै कमरेडहरुलाई विनम्रतापूर्व आग्रह छ, म फेरि दोहो¥याउँछु, यो पार्टीलाई विभाजन हुन दिइने छैन । पार्टी एकतावद्ध हुन्छ, तपाईहरुले अहिले यता र उता दौडिनुपर्ने परिस्थिति नआओस् भनेर म तपाईहरुलाई अपील गर्न चाहन्छु’ उनले भने, ‘सबैले जिन्दावादको नारा लगाऔं, यही नै यो राष्ट्रको हितमा छ । पार्टी र देशको हितमा छ ।
प्रचण्डले अगाडि भने, ‘अस्ति मेरै नेतृत्व चलेको बैठकमा पहिलो एजेण्डा सीमा सुरक्षा र समाधान थियो । त्यहाँ मैले बोल्दा होस् या अरु सबैले बोल्दा, सरकारलाई धन्यवाद दिइएको छ । केपी ओलीलाई धन्यवाद दिइएको छ, पार्टीको निर्णयले मात्रै पुग्दैनथ्यो, प्रधानमन्त्रीको हैसियतले अन्त्यमा तपाईले औपचारिकता दिनुभयो, धन्यवाद भनियो ।’
























