Breaking News
सलहको नयाँ झुण्ड नेपाल आउँदै, सरकारले भन्यो : सतर्कता अपनाऔं

काठमाडौं, असार २८-
सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै विज्ञले सचेत गराएका छ न्।
भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु छन् । यी झुण्ड करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले जनाएको छ ।
प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलहको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको भन्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी, मुजफ्फरपुर र दरभंगा आसपासको क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ।
केन्द्रले सूचना निकालेर झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको हो।
‘ती झुण्ड एक/दुई दिनभित्रै महोत्तरी, धनुषा, सर्लाही लगायतका तराईका जिल्ला हुँदै नेपाल प्रवेश गर्ने सम्भावना छ,’ केन्द्रको सूचनामा भनिएको छ। त्यसैगरी भारतकै राजस्थानका विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि दुई/तीन दिनभित्र प्रदेश पाँच र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ।
यसअघि १४ असारमा सलहका विभिन्न झुण्ड भारत हुँदै नेपाल प्रवेश गरेका थिए। कतिपय ठाउँमा सलहले बालिनाली खाएर सखाप पारेको थियो। तर पछि मौसम प्रतिकूल हुँदा सलह भागेका थिए भने केही मरेका थिए।
























