चितवन विशेष
प्रेस युनियन चितवनलाई स्वास्थ्य सामग्री सहयोग

भरतपुर, असार २७-
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीले चितवन शाखालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेका छन् ।
शाखा अध्यक्ष अनिल ढकाललाई शनिबार सामग्री हस्तान्तरण गरे । सेनिटाइजर, एन ९५ मास्क ७० थान र १५ थान प्रेस ज्याकेट सहयोग गरेका हुन् । केसीले चैत १४ गतेदेखि २५ जिल्लाका पत्रकारलाई स्वास्थ्य सुरक्षाका सामग्री तथा क्वारेन्टिनमा बसेकालाई खाना, खाजा सहयोग गरिसकेका छन् ।
केसी कोहलपुर–८ बाट प्रकाशन हुने मार्ग रेखा दैनिकका प्रकाशकसमेत हुन् । ‘फ्रन्टलाइनमा बसेर पत्रकारिता गर्नेलाई सकेको सहयोग अभियान चलाएको छु’, केसीले भने, ‘७७ जिल्लामै सहयोग पु¥याउने लक्ष्य छ ।’ उनले बर्दिया, धनगढी, दाङ, डडेल्धुरा, परासी, कपिलवस्तुलगायतका ठाउँमा सहयोग गरिसकेका छन् । ‘रिपोर्टिङमा खटिने पत्रकार कोरोना संक्रमणको जोखिममा छन्, यो बेला सावधानी अपनाउन जरुरी छ’, उनले भने, ‘पत्रकारको आत्मबल बढाउन जरुरी पनि छ ।’ सबै पत्रकारको बिमा, समयमै पारीश्रमिक पाउने वातावरण सुजना गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले भरतपुर ८, १८ र १९ का क्वारेन्टाइनमा बसेकालाई खाना सहयोग समेत गरे । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पत्रकारलाई प्रोत्साहन गर्दै सुरक्षित तवरले पत्रकारिता गर्न प्रेरित गर्न आवश्यक रहेको बताए ।
शाखा अध्यक्ष ढकालले केसीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री क्रियाशिल पत्रकारलाई वितरण गरिने बताए । नेपाल पत्रकार महासंघ तथा प्रेस युनियनकी केन्द्रीय सदस्य सृजना अर्यालले कोरोना संक्रमण फैलिन नदिन पत्रकारले समाजलाई सतर्क बनाउनुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेस कोहलपुर नगर समितिका सदस्य हरिप्रसाद भट्टराईले यो बेला सबै सहयोगी बन्नुपर्ने धारणा राखे ।
























