Breaking News

नेपालमा कोरोना : संक्रमित १६ हजार नाघे, पछिल्लो २३ दिनमै संक्रमितको संख्या १० हजार नजिक

Banner

काठमाडौं, असार, २४-

कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी लकडाउन खुकुलो भएसँगै नेपालमा २३ दिनमै संक्रमित ह्वात्तै बढेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

नेपालमा दुई जना मात्रै संक्रमित हुँदा सरकारले गत चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो । तर, अहिले दैनिक ठूलो संख्यामा संक्रमितहरु देखिएको छ ।

सरकारी कार्यालय सुचारु भएको दिन असार १ यतादेखि २३ दिनमा देशभर संक्रमितको संख्या १० हजार नजिक पुगेको छ । त्यस्तै असार १० मा संक्रमितको संख्या १० हजार नाघेको थियो ।

संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका ६ हजार २९ जना छन् । त्यसपछि ३१ देखि ४० वर्ष उमेर समुहका ३ हजार ६ सय ९७ जना संक्रमित छन्।

त्यस्तै तेस्रोमा ११ देखि २० वर्ष उमेर समुहका ३ हजार ३ सय ६८ जना संक्रमित छन्। यो आँकडा हेर्दा युवा उमेर समूहका बढी संक्रमित छन्। ११ देखि ४० वर्ष उमेर समूहका मात्र १३ हजार ९४ जना संक्रमित छन्। अर्थात ८१ प्रतिशत संक्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन्।

यस्तै १० वर्षमुनिका संक्रमित बालबालिकाको संख्या ६ सय २ छ। स्वास्थ्य मन्त्रालयले बालबालिका समेत संक्रमणको उच्च जोखिममा रहेको भन्दै अभिभावकलाई विशेष ख्याल राख्न सुझाएको छ।

५१ देखि ६० वर्ष उमेर समूहका भने ५ सय ९५ संक्रमित छन्। त्यस्तै ६१ देखि ७० उमेर समूहका १ सय ९१ र ७१ देखि ८० उमेर समुहका ४६ जना संक्रमित छन्। ८० वर्ष माथिका भने १२ जना संक्रमित छन्।

गत शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा २५ वटा प्रयोगशालामा आरटी पिसिआर परिक्षण विधिबाट २ लाख ६१ हजार ८ सय ६१ परिक्षण गरिएको छ । जसमा यो सामाग्री तयार पार्दासम्म १६ हजार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमित भएका मध्ये अधिकांश आइसोलेशनमा रहेका छन् । कोरोनाकै कारण ३५ जनाको ज्यान गएको छ । त्यस्तै ७ हजार ४ सय ९९ जना निको भएका छन् भने, हाल ८ हजार ६ सय ३४ जना बिरामीहरुको उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>