चितवन विशेष

भरतपुर पहारिलोटारमा भानु माविको नयाँ भवन उद्घाटन

Banner

भरतपुर, असार २४

भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयको प्रशासनिक तथा पुस्तकालय भवनको आज उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सो भवनको उद्घाटन गरेकी हुन् ।  भरतपुर महानगरपालिका, सामाजिक विकास मन्त्रालय र डीएलपीआईको एक करोड ४६ लाख रुपैयाँको लागतमा चार कोठे आधुनिक प्रशासनिक भवन र पुस्तकालय निर्माण सम्पन्न भएको थियो ।

सो अवसरमा महानगरपालिका प्रमुख दाहालले चितवनमा खुलेका विभिन्न विषयका क्याम्पस तथा विश्वविद्यालयले प्रवाह गरिरहेको गुणस्तरीय शिक्षाले भरतपुर शैक्षिक हब बन्दै गएको विचार राखिन् । भवन उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुरमा खुला विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएको भन्दै त्यसका लागि आवश्यक जग्गाको खोजीमा आफू रहेको बताइन् ।

चालु आर्थिक वर्ष २०७६\७७ मा संघ, प्रदेश र महानगरको लगानीमा शिक्षा क्षेत्रको समग्र विकासमा १८ करोड रुपैयाँभन्दा बढी बजेट परिचालन गरिएको जानकारी दिँदै महानगर प्रमुख दाहालले आगामी आर्थिक वर्षमा पनि सोही बमोजिम अगाडि बढ्ने बताए । गुणस्तरीय र व्यवहारिक शिक्षा नै अहिलेको अवश्यकता भएको भन्दै प्रमुख दाहालले शैक्षिक गुणस्तर वृद्धि गर्नुको कुनै विकल्प नभएकोमा जोड दिइन् । शिक्षा क्षेत्रको समुचित विकास र विस्तार बिना मुलुकले लिएको लक्ष हासिल गर्न नसकिने भन्दै महानगर प्रमुख दाहालले शिक्षक, विद्यार्थी र अभिभावकलाई शैक्षिक गुणस्तर कायम गर्न एकताबद्ध भएर लाग्न आग्रहसमेत गरिन् । कार्यक्रममा भरतपुर २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीले विद्यालयको नवनिर्मित भवनसँगै शैक्षिक वातावरण विकासमा थप टेवा पुग्ने बताए ।

स्वास्थ्य चौकी पार्वतीपुरको शिलान्यास

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य चौकी पार्वतीपुरको नयाँ भवनको आज शिलान्यास गरेकी छन् ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा स्वास्थ्य चौकी भवन (एचपीटुटाइप)को शिलान्यास गरेकी हुन् ।

भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताएकी छन् । ४०० वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् । सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी ७९ लाख ७६ हजार ९९१ रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>