Breaking News

पास सिफारिसमा पैसा असुल्दै महानगरका वडा, प्रति पास ६०० रुपैयाँ

Banner

चितवन, असार २४-

कोरोना भाइरसको संक्रमण र लकडाउनका कारणले जनजीवन प्रभावित छ । एक ठाँउबाट अर्को ठाँउमा निर्वाध रुपमा जान सरकारले निषेध गरेको छ । तर, पास बनाएर काम विशेषका लागि जान पाइने व्यवस्था सरकारले गरेको छ । एक ठाउँबाट अर्को ठाउँमा जाने सम्बन्धित स्थानीय तहको वडाको सिफारिसलाई अनिवार्य गरिएको छ ।

तर, यहीँ मौकामा चितवनको भरतपुर महानगरपालिकाका विभिन्न वडाले पास सिफारिस शूल्क धमाधम उठाएको पाइएको छ । महानगरपालिकाको वडा नं. १०, १२, ३ लगायतका वडाहरुले सवारी पास सिफारिस दस्तुर उठाउँदै आएको भेटिएको छ । भरतपुर–१० का वडाअध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले सिफारिस दस्तुर वापत सेवा शुल्क ६०० रुपैयाँ लिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘हामीले आफू खुसी लिएको होइन । महानगरपालिकाको निर्णयअनुसार शुल्क लिने गरेको हो । ’ सेवा शुल्क वापतको बिल र रसिद पनि दिने गरेको उनले बताए । ‘म राजस्व परामर्श समितिको सदस्य हो’ भण्डारीले भने, ‘महानगरको नीति तथा कार्यक्रममा नै व्यवस्था भएको कुरा हो । ’ उनले बिपतको समयमा हुने समस्या आफूहरुले बुझ्ने भन्दै कतिपय मानिसहरु आफूखुसीसमेत पैसा तिरेर सिफारिस लैजाने गरेको बताए ।

भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्गवाले पास सिफारिस दस्तुर उठाएको बताए । उनले अन्य सिफारिस दस्तुर सरह नै सिफारिस शुल्क लिएको उनको भनाइ छ । दैनिक १२ भन्दा बढी यस्ता सिफारिस दिने गरिएको उनले जानकारी दिए । उनले आफूले मात्रैं नभई अन्य वडाहरुले पनि शुल्क उठाएको र सो बारेमा महानगरपालिकालाई जानकारी गराएको बताए । भरतपुर वडा नं. ३ ले सिफारिस दस्तुर लिएर बन्द गरेको छ । वडाध्यक्ष चन्द्रमित्र पण्डितले सुरुका केही दिनमा सिफारिस दस्तुर महानगरले तोके अनुसार लिएपछि पछि जनताले गुनासो गर्न थालेपछि बन्द गरिएको वडाध्यक्ष पण्डितले बताए ।

त्यसैगरी भरतपुर वडा नं. ५ का वडाध्यक्ष पदमपाणि सुवेदीले पास सिफारिस दस्तुर आफूहरुले नलिएको बताए । उनले यस्तो संकटको बेलामा पासको सिफारिस दस्तुर लिनु राम्रो नहुने प्रतिक्रिया दिए । ‘सिफारिस दिए पनि पास बन्छ बन्दैन ठेगान हुँदैन, बनेन भने बेक्कार जस्तो हुन्छ त्यसैले सिफारिस दस्तुर लिएको छैन, अन्य वडाले लिएका छन् ।’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>