समाचार

नदीले कटान गर्न थालेपछि नेपाल–भारतका सीमास्तम्भ बर्सेनि नदीमा मिसिँदै

Banner

दुर्गा देवकोटा

लम्की, असार २४-

कर्णाली नदीले तीव्र कटान गर्न थालेपछि नेपाल–भारतका सीमास्तम्भ बर्सेनि नदीमा मिसिन थालेका छन् । यस वर्ष कर्णाली नदीले दुई देशको दशजगा क्षेत्रमै वैशाख पहिलो सातादेखि नै कटान शुरु गरेको थियो । नदी कटानले यस वर्ष श्रीलङ्कामा रहेको ७०१÷१ नम्बरको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । कर्णाली मात्र नभई सीमाक्षेत्र भएर बग्ने मोहना नदीले समेत दुई देशका सीमास्तम्भ बगाउँदै आएको छ । कर्णाली र मोहना नदीले टीकापुर नगरपालिकाअन्तर्गत पर्ने सहायक पिलरहरु ७०२, ७०३ र ७०४ बगाएको छ ।

टीकापुर नगरपालिकाभित्रका चार मुख्य र १० सहायक सीमास्तम्भ नदीमा हराएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले जानकारी दिनुभयो । “यस वर्ष सीमास्तम्भ मर्मतको काम भयो, नेपाल र भारत मिलेर सीमा रहेका स्तम्भ स्तरोन्नति गर्ने कार्य भयो”, भट्टले भन्नुभयो, “तर नदीमा बगेका सीमास्तम्भबारे केही गरिएन । सीमास्तम्भ नदीमा हराउँदा नेपाल– भारतको सीमामा समेत असर गर्छ ।”

लगातारको कटानले कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा रहेको सत्ती पुलसमेत कटानको जोखिममा छ । सुदूरपश्चिम प्रदेशको टीकापुर र प्रदेश नं ५ राजापुरलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल कटानको जोखिममा परेको हो । तीन वर्षदेखि नदी कटानले गर्दा पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परेको छ । पुलको अन्तिम पिलरसँगै बनाइएको ताराजालीसहित तटबन्ध बर्सेनि भासिँदै आएको छ ।

टीकापुर नगरपालिका–८ वनगाउँका स्थानीय गम्भीर साउद श्रीलङ्कातर्फ नदीको कटान हुँदा पुलसमेत जोखिममा परेको बताउनुहुन्छ । “कटानले नदी गहिरो हुँदा पुल छेउको जाली भासिएको हो । हरेक वर्ष मर्मत हुन्छ, फेरि भासिन्छ, पुल नै जोखिममा परेको छ”, उहाँ भन्नुहुन्छ । प्वाल परेको ठाउँमा तारजाली राखेर सवारी साधन आवतजावत गर्ने व्यवस्था गरिएको छ । पुल किनारमा परेका प्वालका कारण सवारी साधनलाई आवातजावतमा समेत समस्या हुने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>