Breaking News
नेकपा विवादः चीनको सक्रियता बढ्यो, राजदुत यान्छीको बाक्लियो भेटघाट

काठमाडौं, असार २३–
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बढेको विवाद कारण चीनले सक्रियता बढाएको छ ।
विवाद बढेर पार्टी फुटसम्मको अवस्थामा पुगेपछि चिनियाँ राजदूत होउ यान्छीले भेटघाटलाई तिव्र पारेकी छिन् । राजदुत यान्छीले आज (मंगलबार) पूर्वप्रधानमन्त्री एवंम नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छिन् । डल्लुस्थित खनाल निवासमै राजदुत यान्छी पुगेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।
राजदुत यान्छीले पछिल्लो समय हरेक दिन नेकपाका नेताहरुसंग भेटघाट गरिरहेकी छिन् । उनले आइतबार मात्रै नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेकी थिइन् ।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यस्तै राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन् ।
यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । नेपालको राजनीतिमा पछिल्लो समय चीनले नजिकबाट चासो देखाउन थालेको छ ।






















