Breaking News
चितवनका सरकारी कार्यालयमा सेवाग्राहीलाई कोरोनाको डर

चितवन,असार २२-
सवारीसाधनको कर तिर्न भरतपुरमा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा दैनिक जसो सेवाग्राहीको भिड लाग्छ । कोभिड १९ का कारण झण्डै तीन महिनाको लकडाउनपछि कार्यालय खुल्दा कर तिर्नका लागि सेवाग्राहीको भिड लागेको हो । सरकारले कम्तिमा दुई मिटरको दुरी कायम राखेर सेवा सञ्चालन गर्न सरकारी कार्यालयलाई निर्देशन दिएको छ । तर, कार्यालयमा भने त्यो पालना हुन सकेको छैन । सेवाग्राही सामाजिक दुरी र आवश्यक सुरक्षाका उपाय नअपनाइ लाइनमा बस्ने गरेका छन् ।
कार्यालय खुल्ने समय भन्दा अगाडी नै सवारी साधनको कर तिर्नका लागि सेवाग्राहीको भिड लाग्ने गरेको छ । “सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन सुरक्षाका उपाय अपनाउँदै कार्यालय खोल्न अनुरोध गरेपनि सरकारी कार्यालयहरुमा सुरक्षाको सावधानी अपनाईएको पाइदैन ।”
कर तिर्न यातायात कार्यालयमा लाईन बस्नुभएका भरतपुर महानगरपालिका २१ केशव वाग्लेले भन्नुभयो, “कर तिर्न आउँदा कोरोना सर्छ कि भन्ने डर भइसक्यो ।” उहाँले सरकारी कार्यालयमा कोरोनाको जोखिम रहेको तर सुरक्षित रहन कसैले ध्यान नदिएको बताउनुभयो ।
यातायात कार्यालयमा सेवाग्राहीबीच दूरी कायम गर्न ठाउँठाउँमा गोलो घेरा त लगाइएको छ । तर, ठूलो संख्याका सेवाग्राही दूरी कायम नगरी लाइनमा बस्ने गरेका छन । कर तिर्नका लागि दुई÷तीन घण्टासम्म लाईन बस्नुपरेको सेवाग्राहीले गुनासो छ । “विहान ९ बजेदेखि नै मोटरसाइकलको कर तिर्नका लागि आएको हुँ । साढे १२ बजेसम्म पनि पालो आएको छैन्,” हातमा विलबुक समातेर लाईन बसिरहनुभएका रत्ननगरका प्रेम भट्टराईले भन्नुभयो “पैसा तिर्न आउँदा पनि भद्रगोल छ । पालो पाईदैन ।”
कार्यालयले कोरोना संक्रमणबाट जोगिन सुरक्षाका सावधानी नअपनाएको भन्दै सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन । “राजश्व त सरकारलाई चाहिएको छ । त्यो अनुसार व्यवस्थापन हुन सकेको छैन ।” मुग्लिनदेखि कर तिर्न आउनुभएका शिव पौडेलले भन्नुभयो, “पानी आउँदा ओत लाग्ने ठाउँसमेत छैन ।”
यातायात कार्यालय जानेहरु धेरैजसो सवारी कर तिर्न जाने थिए । त्यहाँ कर्मचारीले मास्क र पञ्जा लगाएका पनि कार्यालयमा साँघुरो हुँदा सेवाग्राही ठेल ठमेल गरेर लाईन लागेका थिए । “यसरी ठेल ठमेल गरेर लाइन बस्दा कोरोना सर्ला छ कि भन्ने डर त छ । तर, यो हाम्रो बाध्यता हो । खैरहनीबाट कर तिर्न आएकी हरीकुमारी तामाङ् भन्नुभयो, “लाईन नवस्ने हो भने पालो आउँदैन ।”
तीन महिनापछि कार्यालय खोल्दा सेवाग्राहीको चाप बढेकाले भिड व्यवस्थापन गर्न नसकिएको यातायात कार्यालय भरतपुरका कार्यालयका प्रमुख सुवास उप्रती बताउनुहुन्छ । “हामीले भौतिक दुरी कायम गर्नका लागि गोलो घेरा त लगाएका छौँ । तर, सेवाग्राहीको संख्या उच्च छ ।” उहाँले भन्नुभयो “ बर्खा भएका कारण भिड व्यवस्थापन गर्न कठिन भएको छ ।”
यातायात कार्यालयबाट दैनिक आठ सय जनासम्मले सेवा लिने गरेका छन् । विगतको तथ्याङ्क हेर्ने हो भने यो अवधिमा दैनिक २ सयको हाराहारीमा सेवाग्राही आएको देखिन्छ । चैतदेखि तिर्न बाकीँ रहेका सेवाग्राही एकैपटक आउँदा भिड लागेको उप्रेतीको भनाइ छ ।
सेवाग्राहीको संख्या बढ्न थालेपछि कर्मचारीमा समेत कोरोना संक्रमणको जोखिम बढेको छ । “कोरोनाको उच्च जोखिम भएको समयमा हामीले कार्यालय खोलेका छौँ । यहाँ सयौँ विरामी आउनुहुन्छ । कोरोना लागे नलागेको हामीलाई थाहा हुँदैन ।” उप्रेतिले भन्नुभयो, हामीसमेत कोरोना संक्रमणको उच्च जोखिममा छौँ ।” मास्क, पञ्जा सेनिटाईजर र फेस शिल्ड लगाएर काम गरिहेको उहाँले बताउनुभयो ।
यता वाग्मती प्रदेश सरकारले मंसिरसम्म सवारी साधनको जरिवाना नलाग्ने जानकारी गराएको छ । यातायात व्यवस्था सेवा कार्यालय जस्तै जिल्लाका सात पालिकाहरु, जिल्ला प्रशासन कार्यालय, विद्युत, खानेपानी, टेलिकम, कृषि, भेटेरिनरी लगाएतका कार्यालयहरुमा सेवाग्राहीको चाप क्रमश बढ्दो छ । विकास निर्माणका काम हुने कार्यालयमा झन सेवाग्राहीको उल्लेख्य उपस्थिति हुने गरेको छ । तर ति कार्यालयले आवश्यक सुरक्षा अपनाएको देखिदैंन । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जिल्लाका सबै कार्यालयलाई दुरी कायम गर्दै आवश्यक सुरक्षा अपनाएर काम गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोनाको जोखिम झन बढेको छ, हामीले पनि थप सजगता अपनाउनु जरुरी छ ।’ चितवनमा बुधवारसम्म ७६ जना कोरोना संक्रमित फेला परेका छन् ।
























