Breaking News

काँग्रेसका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा लगाएको ताला फोडियो

Banner

गैंडाकोट, असार २१-

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति गैँडाकोटको समन्वयमा नगरपालिकामा लगाएको ताला आज फोडिएको छ । आइतबार नगरपालिका पुगेका महासंघका टोलीले नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कँडेलको कार्यकक्षमा लगाइएको ताला फोडेका हुन् ।

असार मसान्त नजिकिँदै गर्दा नगरपालिकामा कामको चाप अत्यधिक हुने समयमा ताला लगाएको भन्दै जनजाति महासंघले ताला फोडेका थिए । गत असार १६ गते नगरपालिकाको सातौं नगरसभामा बजेट पारित भएको नगरप्रमुखले घोषणा गरेसँगै असन्तुष्ट रहेको भन्दै नेपाली कांग्रेस सम्बद्ध नगरसभा सदस्यले तालाबन्दी गरेका थिए । गैँडाकोटको नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि नगरपालिकामा दैनिक सेवाग्राहीले सेवा नपाएको चरम गुनासो बढेसँगै तालाबन्दी गरेको समूहले नै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भने गत असार १८ गते ताला खोलेका थिए ।

जनतालाई सेवा दिन निर्वाचनमार्फत आएका जनप्रतिनिधिले नै नगरबासीलाई सास्ती पु¥याउने गरी तालाबन्दी गरिएको भन्दै सर्वोत्र आलोचना भइरहेको थियो । ताला खोल्नु अघि जनजाति महासंघ नगर समन्वय समितिका पदाधिकारीले नागरिकलाई सेवा दिनुपर्ने जनप्रतिनिधिले तालाबन्दी गर्नुले उनीहरुमाथि नै प्रश्न उठेको धारणा राखेका थिए ।

सोहीक्रममा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति गैँडाकोटका अध्यक्ष ललितबहादुर गुरुङले आगामी दिनमा जनतालाई प्रभावकारीरुपमा सेवा दिन आग्रह गर्दै फेरि पनि ताला लगाए जनजाति महासंघ हेरेर नबस्ने चेतावनीसमेत दिएका छन् । महासंघका कोषाध्यक्ष कृष्णमान श्रेष्ठले नगरसभा सदस्यहरुको कार्यको विरोध गर्दै आगामी दिनमा सच्चिन आग्रहसमेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>