Breaking News
राष्ट्रपतिलाई प्रचण्डसहित तीन नेताको आग्रह – प्रधानमन्त्रीका गलत क्रियाकलापलाई साथ नदिनु

काठमाडौं, असार २१-
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलाप साथ नदिन आग्रह गरेका छन्।
आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटन अध्यक्ष दाहाल र वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतलनिवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको अनौपचारिक छलफलमा आफूलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेको बताएपछि त्यसबारे प्रस्ट पार्न तीन नेताहरु शीतलनिवास पुगेका हुन् ।
उनीहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुनै तयारी नरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
स्रोतका अनुसार उनीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने कुरा बालुवाटारबाट चलाइएको अतिरञ्जित हल्लामात्रै भएको बताएका छन् । उनीहरुले सम्मानित संस्थाविरुद्ध कुनै कदम नचाल्ने समते प्रस्ट पारेका थिए ।






















