Breaking News
एकाएक प्रचण्ड, झलनाथ, माधव किन पुगे शितलनिवास ?

काठमाडौं, असार २१–
नेकपा भित्र चुलिएको विवादले नेपाली राजनीति यतिबेला गर्मिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली एकातिर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल एकातिर भएपछि नेकपा फुटको नजिक पुगेको छ ।
प्रधानमन्त्री ओली पटकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेपछि उनी इतरका नेताहरु अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र माधव कुमार नेपाल पनि आज एकाएक शितलनिवास पुगेका छन् ।
प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले शनिवार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद सदस्यहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले राष्ट्रपतिविरुद्ध समेत खुमलटारमा प्रचण्ड पक्षधर नेताहरुले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको माधव नेपाल निकट एक नेताले बताए ।






















