Breaking News
प्रधानमन्त्री ओलीको प्रस्ताव बोकेर ईश्वर पोखरेलसहितका निकट नेताहरु प्रचण्ड निवासमा

काठमाडौं, असार १८-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ । सत्ता संघर्ष चुलिँदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानैदेखि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुसँग आफ्नो निवास खुमलटारमा छलफल गरिरहेका छन्।
अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा एक ठाउँमा उभिएका छन् । दाहाल-नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी र सरकार दुवै नचल्ने निश्कर्ष निकालेको छ । र, जारी स्थायी कमिटी बैठकमा उनीहरुले ओलीको राजीनामा माग गरेका छन् ।
खुमलटार स्रोतका अनुसार छलफलमा अध्यक्ष केपि ओली निकटका तीन जना स्थायी कमिटी सदस्यबाहेक ७ जना नेता सहभागी छन् । छलफलमा अध्यक्ष केपी ओली पक्षका तीन स्थायी कमिटी सदस्यबाहेक बाँकी सहभागी रहेका खुमलटार स्रोतले जनाएको छ।
छलफलमा ओली निकटका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेता सहभागी रहेका स्रोतले जनाएको छ।
उता, ओलीले बालुवाटारमा छुट्टै भेला बोलाएपछि दाहाल-नेपाल समूहले पनि हिजो (बुधबार) साँझ ललितपुरको झम्सिखेलस्थित् अगेनो रेष्टुरेन्टमा स्थायी कमिटी सदस्यहरु सम्मिलित भेला गराएको थियो । दाहाल-नेपालको भेलामा मन्त्री रामबहादुर थापा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र घनश्याम भुषालपनि सहभागी थिए । यसअघि ओलीलाई साथ दिँदै आएका बादलले भने पहिलोपटक खुलेर आफ्नो साथ दाहाललाई रहने विश्वास दिलाएका थिए । हिजो भेलालले ओलीमाथिको दबाब कायमै राख्ने र प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गराउन लगाउने निश्कर्ष निकालेको छ ।
बिहान साढे ७ बजेदेखि सुरु भएको छलफल सकिए लगत्तै स्थायी समिती बैठकका लागि बालुवाटार जाने नेताहरुको तयारी छ। स्थायी कमिटी बैठक जारी रहँदा नेकपामा सत्ता परिवर्तनको खेल तीब्र भएको छ।






















