चितवन विशेष
दुई तिहाइको सरकारले आफ्नो दायित्व भुल्योः महामन्त्री कोइराला

चितवन, असार १७–
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दुई तिहाइ सरकारले आफ्नो सबै दायित्व भुलेको आरोप लगाएका छन् । प्रजातान्त्रिक बिचार समाज चितवनको २२औ साधारण सभालाई जुम मार्फत सम्बोधन गर्दै महामन्त्री कोइरालालले सरकारले आफ्नो दायित्व भुलेर अघि बढीरहेको बताए ।
उनले भने–‘यस्तो कोरोनाका महामारीकाबीचमा सरकारले जनताको दुःखमा साथ दिनु पर्दथ्यो, सरकार गफ गर्नमै व्यस्त रह्यो ।’ उनले देश विषम् परिस्थितिबाट गुज्रिरहेको भन्दै महामारीबाट बच्नु नै अहिले पहिलो प्राथमिकता भएको बताए । महामन्त्री कोइरालाले विदेशबाट आएकाहरुलाई राख्न बनाइएको क्वारेन्टिन नै अव्यवस्थित रहेको भन्दै यसतर्फ सरकारले कुनै ध्यान नदिएको आरोप लगाए । उनले क्वारेन्टिन र आइसोलेसन सुरक्षित बनाउन सबैले आवाज उठाउनुपर्नेमा जोड दिए ।
यस्तै महामन्त्री कोइरालाले एमसीसी, नागरिकता जस्ता संवेदनशील विषयमा पार्टीभित्र वृहत छलफल गरेर मात्रै आधिकारिक धारणा बाहिर ल्याउनुपर्नेमा जोड दिए । यस्तै उनले काँग्रेसको महाधिवेशन तोकिएकै मितीमा हुने भन्दै कथमकदापी कोरोनाका कारण केही समय मात्रै सर्न सक्ने बताए । सो कार्यक्रममा विचार समाजका केन्द्रीय अध्यक्ष डा.केदार नरसिंह केसीले कोरोनाका कारण सबैतर्फ बन्दाबन्दी भए पनि विचार समाजले यही बीचमा पनि समय समयमा जुम बैठक गरिएको बताए ।
कार्यक्रमका अर्का अतिथि पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवंम काँग्रेसका युवा नेता गगन थापाले पछिल्लो समयमा सरकारले धेरै कमि कमजोरी गरेकाले त्यस्ता गलत गतिविधिलाई प्रश्न गर्ने र खबरदारी गर्ने काम प्रतिपक्षीको भएको बताए । दुई तिहाइको सरकारले काम गर्ने बैधानिकता मात्रै पाएको बताउदै बैध भएनभएको हेर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको बताए । नेपाली काँग्रेसले पाएको ५ वर्षको प्रतिपक्षीको भुमिकामा खरो उत्रनु पर्ने र प्रजातान्त्रिक विचार समाज पार्टीकै शुभेचछुक संस्था भएकोले पनि घच्घच्याइरहनु पर्ने बताए ।
कार्यक्रममा नेपाल दलित संघका केन्द्रीय महासचिव प्रकाश रसाइली, समाजका जिल्ला अध्यक्ष देविप्रसाद कँडेल, नेपाली काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ लगाएतले बोलेका थिए । महामारीका कारण प्रविधिको प्रयोग गरी जुम भिडियोबाट कार्यक्रम गरिएको प्रजातान्त्रिक विचार समाज चितवनका सचिव सुरेशचन्द्र आचार्यले बताए ।
























