Breaking News
चितवनमा कोरोना भाइरस समुदायस्तरमै फैलिएको हो ?

चितवन, असार १७–
बुधबार चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भयो । ती मध्ये ८ जना क्वारेन्टिनका हुन् भने बाँकी पाँच जना क्वारेन्टिन बाहिरका । ती पाँच जना मध्ये पनि दुई जना मात्रै अस्पतालमा छन् बाँकी तीन जना संक्रमण पुष्टि हुँदा घरमै थिए । ती तीन जना भरतपुर महानगरपालिका–७ का २६ वर्षीय पुरुष, भरतपुर–२२ का ५० वर्षीय पुरुष र भरतपुर–११ की ४५ वर्षीया महिला हुन् । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका केशव भट्टले तीन जनालाई भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको जानकारी दिए । दुई जनाको भने नारायणी सामुदायिक हस्पिटलमा उपचाररत भइरहेको छ । चितवन बाहिर कतै नगएका पाँच जनामा कसरी कोरोना पोजिटिभ देखियो सोचनिय विषय बनेको छ ।
भट्टले भने–‘भरतपुर अस्पतालबाट स्वाब संकलन गराएका तीन जना घरमै थिए, उनीहरु चितवन छोडेर कतै गएको पाइएको छैन ।’
स्रोतका अनुसार संक्रमण पुष्टि भएका मध्ये भरतपुरका एक जना स्वास्थयकर्मी हुन् । तर उनी अहिले कुनै स्वास्थ्य कार्यालयमा कार्यररत छैनन् । काठमाडौं जानका लागि उनले भरतपुर अस्पतालबाट कोरोना परीक्षण गराएको खुल्न आएको छ । उनको अन्य स्वास्थ्यकर्मी साथीहरुसंग मात्रै भेटघाट भएको खुल्न आएको छ ।
यस्तै कोरोना पुष्टि भएकी भरतपुर महानगरपालिका–११ की ४५ वर्षीया महिलाको पनि कुनै ट्राभल हिष्ट्रि छैन । उनी घरमै रहेको र ज्वरोलगायतका लक्षण देखिएपछि भरतपुर अस्पताल पुगेकी थिइन् ।
यस्तै नारायणी सामुदायिक हस्पिटलमा उपचाररत खैरहनी नगरपालिकाका एक ६१ वर्षीय पुरुषमा पनि अहिलेसम्म ट्राभल हिष्ट्रि खुलेको छैन । ती बिरामी चितवन बाहिर नगएको र सघन कक्ष (आइसीयू)मा उपचाररत छन् । त्यस्तै राप्ती नगरपालिका–१ की १२ वर्षीया बालिकामा पनि कोरोना देखियो । उनी पनि नारायणी सामुदायिकमै उपचाररत छिन् । यसरी हेर्दा बुधबार कोरोना पुष्टि भएकाहरुको अवस्था हेर्दा चितवनमा समुदायस्तरमै कोरोना फैलिएको देखाउँछ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीेले भने–‘क्वारेन्टिन बाहिर रहेका मानिसहरुमा कोरोना संक्रमण देखिनु भनेको समुदायस्तरमा कोरोना फैलिएको संकेत हो, अब जनता आफै सतर्क हुनुको विकल्प छैन ।’ उनले प्रारम्भिक ट्रेसिङका अनुसार आज संक्रमण पुष्टि भएकाहरु चितवन बाहिर गएको दैखिदैन । तर उनीहरुले सुरुमा कुरा लुकाएको पनि हुन सक्ने भएकाले थप ट्रेसिङको काम भइरहेको बताए ।
लकडाउन खुकुलो भएको दुई सातापछि समुदायमा बसिरहेका व्यक्तिमा कोरोना देखिनु चितवनमा थप जोखिम बढेको संकेत गरेको छ । ‘कम्तीमा ७ देखि १४ दिनमा कोरोना संक्रमण देखिन्छ, आज पुष्टि भएका यही समयका व्यक्ति भएकाले लकडाउन खुकुलोको प्रभावको रुपमा बुझन सकिन्छ’–जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भने । उनले चितवनबासीलाई अतिआवश्यक काममा बाहेक घर बाहिर ननिस्कन अनुरोध समेत गरेका छन् ।
लकडाउन खुकुलो भएसंगै चितवनमा बाहिरी जिल्लाबाट भित्रिनेको संख्या पनि बढी रहेको छ । यसले थप जोखिम बढाएको वरिष्ठ चिकित्सक डा.भोजराज अधिकारी बताउँछन् । उनले भने–‘चितवनमा अन्यत्र जिल्लाका मानिसहरुको आवातजावत बढी नै देखिएको छ, संक्रमण देखिनुको कारण लकडाउन खुकुलो पनि हो ।’
























